फिल्मको समीक्षालाई लिएर ‘छ माया छपक्कै’का निर्देशक र निर्माताको जुहारी

फिल्म ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामा र कलाकार तथा निर्माता दीपकराज गिरीबीच एक मिडियामा आएको फिल्मी समीक्षालाई लिएर जुहारी चलेको छ । सामाजिक सञ्जाल फेसबुकमा यी दुइले समीक्षाको विषयमा फरक–फरक धारणा राखेका हुन् । 

एक मिडियामा विशेषगरि, ‘नाङ्गो गाउँ र एक भागवत् र एक गीता’को समीक्षा सार्वजनिक भएको थियो । ‘नाङ्गो गाउँ’को समीक्षा फिल्म रिलिज भएको ५ दिन पछि सार्वजनिक हुँदा ‘एक भागवत् र एक गीता’को समीक्षा भने रिलिजको भोलिपल्टै सार्वजनिक भएको थियो । यो कुरालाई लिएर दीपकले सामाजिक सञ्जालबाट असन्तुष्टि जनाएका थिए । 

दीपकले फेसबुकमा लेखेका छन्–‘इकान्तिपुरको फिल्म समीक्षा एउटा फिल्मलाई रिलिजको भोलिपल्टै धूलो चटायो । अर्कोलाई ५ दिन पछि तारिफ । समीक्षा भनेको न गाली मात्र हो, तारिफ मात्रै ।’

दीपकको यो स्टाटस सार्वजनिक भएपछि ‘नाङ्गो गाउँ’ फिल्मका निर्देशक दीपेन्द्र लामाले प्रतिक्रिया दिँदै लेखेका छन्–‘समीक्षकको धर्म समीक्षा गर्नु हो । उसले आफ्नो वा अरू कसैको फिल्मलाई गाली गर्‍यो भन्दैमा रियाक्ट गर्ने काममा फिल्मकर्मी लाग्नुहुन्न । फिल्मकर्मीको काम आफ्नो कला र कौशललाई तिखार्दै लैजानु हो । म त मेरो फिल्मको गल्ती वा कमजोरी कसैले उजागर गरिदिए सकारात्मक नै ठान्छु । त्यसले रचनात्मक बहसको त निर्माण गर्छ ।’

दीपेन्द्रको प्रतिक्रियामा प्रत्युत्तर दिँदै दीपकले लेखेका छन्–‘सही हो मित्र तर, भारतमा पनि केआर के जस्ता समीक्षक छन् । उनी विरुद्ध पनि लगभग सबै फिल्मकर्मी बोल्छन् किनकि उनको नियत राम्रो छैन । जहाँ, बारम्बार शंका गर्ने ठाउँ हुन्छ, बोल्ने गर्नुपर्छ । समीक्षक सन्तुलित हुनुपर्छ, उनको अपरिपक्वताको धेरै प्रमाण छ । त्यसैले बोलेको हो । समीक्षाको काम खुइल्याउने मात्रै होइन, बाँकी मित्रको कुरामा प्रायः सहमत नै छु ।’

दीपकले समीक्षकहरूले सन्तुलित नभई कुनै फिल्मलाई व्यक्ति वा कलाकार हेरेर खुइल्याउने गरेको त कुनै फिल्मलाई काखी च्याप्ने गरेको घुमाउरो तरिकाले जवाफ दिन खोजेका छन् । 

भदौको २९ गतेबाट रिलिजमा आएका ‘नाङ्गो गाउँ र एक भागवत् र एक गीता’ले तीज र संविधान दिवसको बिदाको फाइदा राम्रोसँग उठाएका छन् । दोश्रो सातामा अन्य फिल्म पनि रिलिज नभएकाले यसको फाइदा पनि यी दुवै फिल्मले उठाउन सक्छन् । दोश्रो साताको व्यापारले नै दुवै फिल्मको लाइभ टाइम कलेक्शन निर्धारण गर्नेछ ।