‘डिग्री माइला’: रामबाबुलाई ‘कबड्डी’को ह्याङबाट मुक्त हुनुपर्ने चुनौती


निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार भैरहेको फिल्म ‘डिग्री माइला’को हाल धमाधम छायांकन भैरहेको छ । रुम्झाटारमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, आँचल शर्मा लगायतले छायांकन गरिरहेका छन् । पहिलो चरणको छायांकन रुम्झाटारमा गरेपछि मंसिरमा दोश्रो चरणको छायांकन हुनेछ । 

यो फिल्म नयाँ बर्षको छेकोमा रिलिज हुँदैछ । फिल्मको छायांकन भैरहँदा यसको व्यापारलाई लिएर पनि आँकलन सुरु भैसकेको छ । यो बर्षको अन्तिममा रिलिज हुने फिल्मले बक्स अफिसमा गज्जबको व्यापार गर्ने प्रक्षेपण भैरहेको छ । 

फिल्मका निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’को ४ वटा सिरिजबाट आफूलाई सफल निर्देशकको रुपमा उभ्याएका हुन् । यी बाहेक उनले ‘साइँला, पुरानो डुङ्गा, फूलबारी’ फिल्म पनि निर्देशन गरे । तर, यी फिल्ममा पनि रामबाबुलाई ‘कबड्डी’को ह्याङबाट मुक्त हुन नसकेको आरोप लागेको छ । अर्कोतिर, ‘कबड्डी’का चारैवटा सिरिजले बम्पर व्यापार गर्दा रामबाबुका अन्य फिल्मले अपेक्षित व्यापार गरेका छैनन् । 

यसैले, ‘डिग्री माइला’मा रामबाबुलाई ‘कबड्डी’को ह्याङबाट मुक्त हुनुपर्ने चुनौती छ । किनकी, यो फिल्मको कथावस्तु साधारण तर रमाइलो रहेको वुझिन्छ । डिग्री पास गरेर पनि आफ्नो योग्यतालाई खासै मतलब नगर्ने एक पात्रको कथामा यो फिल्म बनिरहेको छ । रामबाबु यसपटक ‘कबड्डी’को ह्याङबाट मुक्त हुन्छन् या हुँदैनन्, हेर्न बाँकी छ ।