असोज २६ मा बासेन्जी

सन् ९० को दशकदेखि प्रचलनमा आएको भिडियो गेममा देखिने प्रस्तुतीकरण शैलीमा तयार पारिएको फिल्म ‘बासेन्जी’ यही असोज २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । नेपाली फिल्ममा पहिलो पटक भिडियो गेममा देखिने प्रस्तुतिकरण यो फिल्म दर्शकले हेर्न पाउनेछन् ।

अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माणमा बनेको फिल्म हरर जनरामा निर्माण गरिएको छ । फिल्ममा प्रवेश पात्रको आँखाबाट र उसैलाई केन्द्रीय पात्र बनाई देखाइएको छ । प्रवेश पात्र आफ्नो बुवालाई कृषि विषयमा खोज पत्रकारिताका गरेको निहुँमा बर्खास्त गरेपछि पश्चिम नेपालबाट काठमाडौं आएको छ ।

यसै सिलसिलमा उसले आकाश पात्रलाई भेट्छ जसले आफ्नो मनमा उठेका आँधीलाई शान्त पार्न काठमाडौं नजिकको गाउँमा जान सल्लाह दिन्छ । अनि सुरू हुन्छ डरलाग्दा घटनाको सिलसिला ।

यस अघि ‘म्याङ्गो पिक्कल (आँपको अचार)’ निर्देशन गरेका इयक स्कट क्लेमेन्ट नेपाली परिवेश र नेपाली जीवनबाट प्रभावित भई नेपालमा नै फिल्म निर्देशन गर्ने धोको बोकेका फिल्मर्मी हुन् । गौरीशङ्कर इन्टरटेनमेन्टसँग आबद्ध सुरज मैनाली र गौरव बस्नेतसँग मिलेर क्लेमेन्टले ‘बासेन्जी’ को लेखन कार्य गरेका हुन् । यो फिल्ममा प्रवेशको भूमिकामा कलाकार असिम निरौला आबद्ध छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् । कलाकार मिथिला शर्मा र सरिता गिरीको पनि यसमा अभिनय रहेको छ ।

निर्देशक क्लेमेन्ट भन्छन्, ‘नेपाली फिल्ममा यो यस्तो प्रयोग हो जुन हालसम्म गरिएकै छैन । हामीले प्रथम पुरुषको दृष्टिकोणका लागि टाउकोमा क्यामरा राख्ने विशेष उपकरण तयार पारेका थियौं जसले पात्रको परिप्रेक्ष्यबाट उसको संसार देखाइन सकियोस् । त्यसै गरी तृतीय पुरुषको दृष्टिकोण देखाउनका लागि गिम्बल प्रयोग गरेका छौं जसले पात्रलाई नजिकैबाट नियालेर वा उसको हाउ(भाउ नियालेर हेर्न सकियोस् । मलाई पूरा विश्वास छ – हामीले नेपाली दर्शकलाई केही नयाँ पस्किन पूर्ण सफल भएका छौं ।’