दशैं र तिहारः ठूलो हिन्दी फिल्म भर्सेस प्रतिक्षित नेपाली फिल्म


नेपालीहरुको ठूला पर्व दशैं र तिहारमा फिल्म रिलिजको तछाडमछाड नै देखिन्छ । दशैं र तिहारमा फिल्म रिलिज गर्दा व्यापारिक रुपमा पनि ठूलो सफलता हासिल गर्न सकिन्छ भन्ने आम मेकरमा छ । यसैले, धेरै मेकरको रोजाइमा दशैं र तिहार नै पर्ने गर्दछ । 

तर, विगत केही बर्षदेखि भने यो माहोल फेरिएको छ । कुनै समय तिहारमा मात्र ठूला हिन्दी फिल्म रिलिज हुने गर्दथ्य । तर, अब दशैंमा पनि बलिउड तथा साउथका मेकरहरु फिल्म रिलिजका लागि तछाडमछाड गरिरहेका छन् । जसको असर, नेपाली फिल्मको रिलिजमा परेको छ । तर, दशैं र तिहार जस्ता पर्वमा नेपाली फिल्म रिलिज नै नगर्ने भन्ने त हुँदैन । 

यो बर्षको दशैं र तिहार पनि यस्तै भएको छ । यो बर्ष नेपाली फिल्म क्षेत्रले नै अपेक्षा गरेका २ वटा फिल्म दशैं र तिहारमा रिलिज हुँदैछन् । 

दशैंमा यो बर्षकै सर्वाधिक ठूलो ग्रस कलेक्शन गर्छ भनेर आँकलन गरिएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज हुँदैछ । दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेको टिमले बनाएको फिल्मले बक्स अफिसमा विष्फोटक व्यापार गर्ने अनुमान गरिएको छ । 

तर, दशैंमा बलिउड फिल्म ‘गणपत’ र साउथ फिल्म ‘लियो’ रिलिज हुँदैछ । ‘गणपत’मा टाइगर श्राफ र कृति सेननको अभिनय छ भने ‘लियो’मा थलापति विजयको अभिनय छ । यसैले, यी दुई फिल्मले इनिसियल रुपमा नेपाली फिल्मको व्यापारमा केही असर पार्ने देखिन्छ । तर, बलियो वर्ड अफ माउथ आएको खण्डमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को व्यापारलाई कसैले रोक्न भने सक्दैन । 

यसपटक, सबैभन्दा ठूलो जोखिम निर्देशक निश्चल बस्नेतले उठाएका छन् । निश्चलले केही बर्षको अन्तरालपछि निर्देशन गरेको फिल्म ‘दिमाग खराब’ कार्तिकको २४ गतेबाट रिलिज हुँदैछ । नेपाली फिल्मका सर्वाधिक चलेका कलाकारहरु दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का लगायतको अभिनय यो फिल्ममा छ । तर, यसपटक निश्चलको टकराव यशराज फिल्मस्को स्पाई यूनिभर्स फिल्म ‘टाइगर ३’सँग हुनेछ । यसको अघिल्लो २ सिरिजले बक्स अफिसमा धमाका मच्चाएको थियो । यसैले, यसको तेश्रो सिरिजले पनि बक्स अफिसमा ब्लकबस्टर व्यापार गर्न सक्छ । 

तर, निश्चलले सलमान खान जस्ता स्टारको हिट फिल्मको सिरिजसँग जुध्ने आँट गरेका छन् । यसमा उनको फिल्म सफल भएको खण्डमा नेपाली फिल्ममाथि देखिएको बलिउड र साउथको दबदबा धेरै हदसम्म कम हुनेछ । जसरी, बलिउडका लागि ‘गणपत र टाइगर ३’ महत्वपूर्ण छ, नेपाली फिल्म क्षेत्रका लागि ‘पशुपति प्रसाद २ः भष्मे डन र दिमाग खराब’को व्यापारिक सफलता महत्वपूर्ण छ ।