विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

आपराधिक विश्वासघातको आरोपमा शुक्रवार पक्राउ परेका नायक अनमोल केसी प्रहरी हिरासतमा बस्न नमानेपछि प्रहरीले गत शुक्रबार चिरायु अस्पताल महाराजगन्जमा लगेर राखिएको थियो ।

अनमोललाई प्रहरीले शुक्रवार पक्राउ गरेपछि वीर अस्पतालमा स्वास्थ्य जाँच गरेर सिंहदरबार परिसरमा ल्याएको थियो । तर, प्रहरीले पक्राउ गरेपछि अनमोल प्रहरी हिरासत नराखिएर स्वास्थ्यमा समस्या देखिएको भन्दै शुक्रबार बेलुकी नै चिरायु अस्पतालमा भर्ना गरिएको थियो । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेर मीनभवनमा रहेको कार्यालयमा ल्याइएको थियो । त्यसपछि कार्यालयले हिरासतमा राख्न सिंहदरबार प्रहरी वृत्तमा पठाएको थियो। काठमाडौँका अन्य प्रहरी कार्यालयभन्दा सिंहदरबार वृत्त अलि सुविधायुक्त मानिन्छ। प्रायः: पक्राउ पर्ने प्रभावशालीहरूलाई त्यही वृत्तमा राख्ने गरिन्छ। तर, अनमोल त्यस दिन प्रहरी हिरासतमा बस्नै मानेनन्। जति प्रयास गरे पनि हिरासतमा बस्न नमानेपछि प्रहरीले नै खोजेर बेलुका साढे ११ बजेतिर महाराजगन्जको चिरायु अस्पतालमा लगेर भर्ना गरेको थियो । उनले गम्भीर विरामी भन्दै अस्पतालै भर्ना गर्नुपर्ने गरि अडान रटेका थिए ।

प्रहरीले पक्राउ गरेका कसैको स्वास्थ्य अवस्थामा समस्या देखिए पहिला सरकारी अस्पताल लैजाने, स्वास्थ्यमा समस्या देखिए सरकारी अस्पतालमा भर्ना गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।

सरकारी अस्पतालमा भर्ना गर्न नसक्ने भएमा अस्पतालको सिफारिसमा मात्र निजी अस्पतालमा भर्ना गर्नुपर्ने प्रावधान रहे पनि प्रहरीले अनमोललाई कुनै प्रक्रिया पुरा नगरी निजी अस्पताल लगेर राखेको हो। दुई रात अस्पताल बसाइपछि आइतबार म्याद थपको प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय टेकु आउँदा उनी तन्दुरुस्त देखिए।

स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको भनिएका अनमोल मुखमा कालो मास्क, सेतो टिसर्ट, खैरो ज्याकेट अनि निलो पेन्ट लगाएर पुगेका प्रहरी कार्यालयमा तीन घण्टा जति बसेर आफ्नो भनाई राखे। प्रहरी कार्यालयको मुद्दा शाखाले अनुसन्धानका लागि म्याद थप्ने प्रयोजन लागि उनीसँग जानकारी लियो। स्वास्थ्य अवस्था कस्तो छ ? किन पक्राउ परेको जानकारी छ छैन, जाहेरीमा रहेको दाबीमा आफ्नो भनाई प्रहरीले सोधेको थियो।

उनले फिल्म 'रावायण'मा अभिनय गर्न १० लाख लिएको स्विकार गर्दै पछि स्क्रिप्ट चित्त नबुझेपछि फिल्ममा अभिनय नगर्ने भनेको को लिएको १० लाख फिर्ता लिन पटक-पटक निर्मातालाई आग्रह गर्दा पैसा फिर्ता लिन नमानेको दाबी गरेका थिए।

उनले आफूले कुनै अपराध नगरेको र फिल्म खेल्न कानुनी रूपमा सम्झौता पनि नगरेको भन्दै पैसा फिर्ता गर्न तयारमै रहेको बताएका थिए। बयान लिने प्रहरीका अनुसार बयान दिँदा उनी सामान्य अवस्थामा देखिएका थिए। कुनै स्वास्थ्य समस्या देखिएको थिएन।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरे पनि कानुनी प्रक्रिया भने जिल्ला परिसरले गर्छ। कार्यालयलाई मुद्दा प्रक्रियाको कानुनी अधिकार छैन। म्याद थपको प्रक्रिया सकिएपछि प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौंको कार्यालयमा पठायो।

त्यहाँ पनि उनी कुनै सहयोगी विना ठमठम हिँडेर गएका थिए। सरकारी वकिलको कार्यालयमा म्याद थपको प्रक्रिया सकिएपछि प्रहरीले उनलाई बबरमहलको जिल्ला अदालत भवनमा लगेको थियो। त्यहाँ पुग्दा पनि न उनको साथमा न कुनै स्वास्थ्यकर्मी साथमा थिए न त अस्पताल भर्ना गर्नुपर्ने गरि विरामी भएका ब्यक्ती झैँ देखिएका थिए।