बालेनको पत्रले प्रभावित हुनसक्छन् पाकिस्तान विरोधी भारतीय फिल्म

काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले बुधबार चलचित्र सेन्सर बोर्डलाई पत्र लेख्दै चार बुँदे सुझाव दिए । बालेन्द्रले सुझावसहित सेन्सर बोर्डले गर्दै आएको कामको प्रशंसा पनि गरेका छन् । 

बालेनको पत्रको दोस्रो बुँदामा भने धेरैको ध्यान गएको छ । यो बुँदामा भनिएको छ–‘पञ्चशीलता सिद्धान्त÷शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो फिल्म बनाए प्रसारणमा रोक लगाउने ।’

यो बुँदाले पाकिस्तानलाई आतङ्ककारीको प्रश्रयस्थल र संरक्षक राष्ट्रको रुपमा चित्रित गरिएका फिल्म प्रभावित हुने संभावना छ । 

मेयर बालेनले यो बुँदामा पञ्चशिल सिद्धान्तको स्मरण गराउँदै एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो फिल्म बनाए प्रसारणमा रोक लगाउने भनेका छन् ।

यसमा उनले कस्तो खाले फिल्म छिमेकी राष्ट्र विरोधी हुने वा नहुने केही खुलाएका छैनन् । यदि उनले भनेजस्तै गर्ने हो भने भारतीय फिल्महरू सर्वाधिक प्रभावित हुनेछन् । यस्तै केही हलिउड फिल्म पनि यसबाट प्रभावित हुन सक्ने देखिएको छ । 

किनकी, धेरैजसो भारतीय फिल्महरूले पाकिस्तानलाई नराम्रो देखाएर दर्शकको सहानुभूति बटुल्दै आएका छन् ।  

भारतमा पछिल्लो समय रिलिज भएका ‘द कस्मिर फाइल्स’, गदर, द केरेला स्टोरी’ फिल्ममा पाकिस्तान र मुस्लिम समुदायलाई नकारात्मक रुपमा चित्रित गरिएको थियो । बक्स अफिसमा अत्यधिक सफल मानिएका यस्ता फिल्मको बौद्धिक वर्गबाट ठूलो आलोचना भएको थियो ।

पछिल्लो समय भारतीय फिल्म त्यसमा पनि बलिउड फिल्मले उग्र–राष्ट्रवाद, हिन्दुवादी अतिवादको पक्षपोषण गर्दै आइरहेका छन् ।

बालेनको यो नयाँ सुझावले विशेषगरी काठमाडौं महानगरपालिका भित्र रहेका फिल्म हलमा हुने प्रदर्शनलाई प्रभावित पार्नेछ । 

यसै वर्ष रिलिज भएको ‘आदिपुरुष’ले नेपालकी छोरी सीतालाई भारतीयका रुपमा प्रस्तुत गरेको भन्दै बालेनले महानगर भित्र फिल्मको प्रदर्शनमा नै रोक लगाएका थिए ।