गुफा पसेका ‘बाघ निर्माता’ अर्थात छविराज ओझा

नेपाली फिल्म क्षेत्रमा छविराज ओझालाई ‘बा’ भनेर सम्बोधन गरिन्छ । उनलाई, फिल्म क्षेत्रको ‘बाघ निर्माता’ पनि भनिन्छ । आखिर, उनलाई किन ‘बा र बाघ’ भनिन्छ ?

छवि ओझाले फिल्म क्षेत्रमा धेरै कलाकार जन्माएका छन् । उनकै फिल्मबाट धेरै कलाकारहरू स्टार बनेका छन् । रेखा थापा, आर्यन सिग्देल, जीवन लुइँटेल, आयुष रिजाल, सविन श्रेष्ठ, शिल्पा पोखरेल मात्र होइनन्, राजेश हमाललाई फिल्म क्षेत्रमा स्थापित गर्न पनि उनको ठूलो हात छ । 
यसैले, फिल्म क्षेत्रमा स्टार जन्माएकै कारण उनलाई ‘बा’ भनिएको हो । अनि, ‘बाघ’ ? यसको पनि कारण छ । 

छविराज ओझाले निर्माण गरेका फिल्महरू असफल नै हुँदैन भनिन्थ्यो । उनी, फिल्मको निर्माणमा सर्वाधिक अगाडि थिए । फिल्मको निर्माण मात्र होइन, छविराज ओझाको फिल्म प्रचार पनि आक्रामक हुन्थ्यो । 

नेपाली फिल्म क्षेत्रमा छविराज ओझाले निर्माण गरेका ‘अजम्बरी नाता, हिम्मत, किस्मत, हिफाजत, अन्दाज, मंगलम’ लगायतका फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरे । 

तर, उनै निर्माता अहिले सुस्ताएका छन् । अझ, भनौँ ‘बाघ’ गुफा पसेको छ । भोकाएर गुफा पसेको बाघ कहिले सिकारका लागि निस्कन्छ टुंगो छैन । 

छविराज ओझापछि नेपाली फिल्म क्षेत्रमा अन्य निर्माताहरू स्थापित भइसकेका छन् । दीपकराज गिरी, रामबाबु गुरुङ जस्ता निर्माताहरू भन्दा छविराज ओझा धेरै पछि परिसकेका छन् । यस्तो अवस्थामा यी निर्माताले २ कदम पछि हटेर ठूलै छलाङ मार्नुपर्ने देखिन्छ । 

विशेषगरि, पारिवारिक समस्यामा परेपछि छविराज ओझा फिल्म निर्माणबाट ब्याक हुनुपरेको हो । उनले, नवराज शर्मा, ज्ञानेन्द्र देउजालाई लिएर फिल्म निर्माणको तयारी पनि गरेका थिए । तर, अझै पनि काम सुरु हुन सकेको छैन । 

आज जन्मदिन मनाइरहेका छविराज ओझालाई धेरै धेरै शुभकामना । फिल्म क्षेत्रकी यी बाघले फेरि सावित गरून् कि, ‘बाघ बुढो भएपनि घाँस खाँदैन ।’