निर्मातालाई ५० प्रतिशत शेयर: ‘लुट’ पछि निश्चलले बनाएको अर्को कोशेढुँगा

हाल हलहरुमा निश्चल बस्नेत निर्देशित दिमाग खराब प्रदर्शन भइरहेको छ। वक्सअफिसमा यसले आफ्ना सुखद दिनहरु व्यतीत गरिरहेको छ । तर फिल्म रिलिज भएको कार्तिक २४ गतेको दिन देखि आगामी शुक्रबार रिलिजको तेस्रो टेक्ने यो दुई दिन अघिसम्म भने उनका लागि सुखद भएन।


यो बीच उनी आफ्नो दिमाग खराब फिल्मको कथावस्तुले उठाएझै नयाँ क्रान्तिमा होमिनुपर्यो जसले आज माग बमोजिमको किनारा पाएको छ।

योसँगै निश्चलले जसरी लुट फिल्म बनाएर नेपाली रजतपटको फिल्म निर्माणलाई नयाँ दिशा र गति प्रदान गरे, त्यसरी नै उनले नेपाली निर्माताको हकका लागि दिमाग खराबको व्यापारलाई नै दाउमा लगाउँदै एउटा भद्र आन्दोलन गरे र टुङ्गोमा पुर्याएर लुट फिल्म पछि दोस्रो कोशेढुँगा बनाएका छन्। 

रिलिजको छैटौँ दिन कार्तिक २९ गते बिहीबार निश्चलले हिन्दी फिल्म सरह शो नदिए दिमाग खराबको प्रदर्शन रोक्ने चेतावनी दिए। कार्तिक २४ गते उनको दिमाग खराब रिलिज भयो भने आइतबार बलिउड फिल्म टाइगर ३ रिलिज भयो। तर हलवालाहरुले टाइगर ३ रिलिज भएसँगै दिमाग खराबमाथि झेल गरे। 

सुरुका दिनमा अपेक्षा अनुसार नचले पनि दर्शकमाझ माउथ पब्लिसिटीका कारण हलहरु भरिभराउ हुन थालेका थिए। उता टाइगर ३ चर्चित फ्रान्चाइज भएकाले आक्रामक व्यापार हुने आशामा हलवालाले दिमाग खराबलाई सलमानलाई भन्दा कम शो दिए। 

हलवालाहरुले यही चलखेल गरे र दर्शक बढाउँदै लगिरहेको निश्चलको फिल्मको शो घटाइदिए। 

हलमा नेपाली फिल्महरूको टिकट बूकिङ र प्रिसेल भन्दा पनि अक्सर विन्डो सेल दर्शक हल पुगेर नै टिकट काटेर फिल्म हेर्ने हुने गर्छ। 

हलवालाले बुकिङको आँकडा देखाउँदै हिन्दी फिल्मका लागि अनुग्रहीत हुने गरेका छन् । तर यसपटक निश्चल बस्नेत जसको दिमाग खराब फिल्म राजनीतिक यथा स्थितिमाथिको विद्रोहमा आधारित थियो, उनले वास्तविक जीवनमा नेपाली फिल्मको प्रदर्शनमा हुने गरेको फोहोरी खेल बन्द गर्ने कदम चाले।

उनले घोषणा गरे- विदेशी फिल्म सरह शो र व्यापारमा ५०-५० प्रतिशत सेयर बाँडफाँड नभए फिल्म उतार्छु। उनको यो घोषणा अनपेक्षित थियो तर नेपाली फिल्मको भलाइका लागि उत्तिकै आवश्यक। दिमाग खराब फिल्ममा उनी मूल पात्रलाई अप्ठ्यारो पर्दा बचाउन आउने पात्रका रुपमा देखा परिरहन्छन् । उनको यस खाले स्क्रिन प्रवेशमा हलमा परर ताली बज्ने गरेको छ । 

यस्तै शैली उनले ५०-५० प्रतिशत सेयर दिनुपर्ने कुरामा पनि देखाए। 

फलतः आज निर्माता संघ र नेपाली हलहरुको छाता संगठन चलचित्र संघबीच हल आम्दानीमा पचास-पचास प्रतिशत सेयर बाँडफाँड हुने सहमति भएको छ। यो सहमतिले निर्माताहरूलाई दीर्घकालिन रुपमा फाइदा पुर्‍याउनेछ। यसले विशेषगरी राम्रा र व्यावसायिक रुपमा चल्ने फिल्म बनाउने निर्माताहरूलाई फाइदा पुग्ने छ। 

पछिल्लो समय नेपालमा मल्टिप्लेक्स संस्कृति फैलिँदो छ जसका कारण फिल्मी पर्दाहरू थपिँदै गइरहेका छन्। यसको असर फिल्मको व्यापारमा देखिन थालेको छ। वक्सअफिस प्रणालीमा सबै हल नआएसकेकाले नेपाली वक्सअफिसको क्षमता कति हो भन्ने औपचारिक मापन त भइसकेको छैन तर पनि एकदमै व्यापार गरेको फिल्मले ३० करोड बढि ग्रस गर्ने क्षमता बनिसकेको छ। 

यसअघिका सेयर बाँडफाँडको अंकगणितले निर्माताहरूले आफ्नो फिल्म तेस्रो हप्ता पुग्दा ३५ प्रतिशतमा झर्नुपर्ने थियो। हल हाउसफुल हुँदा त्यसको तर हलवालाले मार्थे, निर्मातासँग फिल्म तेस्रो सातामा पुग्यो भन्ने भन्दा बढ्दा खुशी हासिल गर्ने अवस्था थिएन।

आज भएको यो सम्झौताले निर्माता खुशी सतप्रतिशत हुने भएको छ । यसरी निश्चलले उठाएको यो कदमले निर्माताहरूलाई बलियो उभिने ठाउँ प्राप्त भएको छ। यसले उनीहरू थप उर्जा मिल्नेछ। यो कामका लागि निश्चलले यो झोँक नझिकेको भए, धेरै पहिलादेखि उठ्दै आएको यो माग वार्ताका नाममा सरिरहने लम्मेतान अदालती तारेख जस्तो हुन्थे । उनले यो एक प्रकारको ल्याङ ल्याङसँधैका लागि पार लगाइदिएका छन्।

यसका लागि निश्चलको कदममा दरो साथ समर्थनसहित उत्रेको निर्माता संघ र बदलिँदो परिस्थितिमा नेपाली फिल्मको यो मागलाई सम्बोधन गरेकोमा चलचित्र संघ पनि धन्यवादको पात्र बनेका छन्।

आजको यो सहमतिले निश्चलले लुट पछि अर्को कोशेढुँगा थप्ने काम गरेका छन्, जसका लागि उनी नेपाली फिल्म उद्योगमा स्मरणीय रहिरहनेछन् । धन्यवाद निश्चल।