‘उडान’को टिजर रिलिज, नेपाली र अमेरिकन यूवा–यूवतीको रोमान्सको कथा

निरन्जन पाण्डेको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘उडान’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । अमेरिकामा रहँदै आएका निरन्जनले यो सर्ट फिल्मको सम्पादन समेत गरेका हुन् । फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, युवराज थापा, ओमार कासाराज, राजु गिलानीको मुख्य भूमिका छ । 

यो सर्ट फिल्म क्रिसमसको समयमा युट्युबमा रिलिज हुने निर्देशक तथा सम्पादक निरञ्जनले जानकारी दिए । यो फिल्ममा ५ मिनेटको गीत समेत समावेश छ । जसमा, प्रविशा अधिकारी र सनुप पौडेलको स्वर, सुरेश राईको शब्द तथा संगीत छ । 


म्युजिकल सर्ट फिल्ममा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको निर्देशक पाण्डेले जानकारी दिए । यो फिल्मले अमेरिकामा रहँदै आएका नेपाली यूवा–यूवती र अमेरिकन युवाको प्रेम कथालाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ ।

फिल्ममा बलराम बुढाथोकीको छायांकन छ । विगत १० बर्षदेखि ४ सय बढी म्युजिक भिडियो, वृत्तचित्र र सर्ट फिल्म खिच्दै आइरहेका बलरामले ‘उडान’लाई पनि खिचेका छन् । 

यो फिल्मलाई अन्तराष्ट्रिय फिल्मी महोत्सवमा लैजाने तयारी समेत भइरहेको निर्देशक पाण्डेले जानकारी दिए । यस्तै, उनले फिल्मलाई एमाजोन प्राइमबाट रिलिज गर्ने तयारी समेत भइरहेको बताए । 

यो फिल्मलाई अमेरिकन प्रोडक्शन हाउस मुभिज इन्फिनिटी क्रियशनले निर्माण गरेको हो ।