नेपाली फिल्मका १० हिरोः को के गर्दैछन् ?


नेपाली फिल्म क्षेत्र पछिल्ला केही बर्षयता केही पुरुष नायकहरुको वरिपरी घुमेको छ । कामको कुरा गर्दा, करिब एक दर्जन कलाकार नै सर्वाधिक व्यस्त छन् । बजारमा उनीहरुकै माग हाबी छ । एक बर्षमा बन्ने ५० वटा फिल्ममा यी नायकहरु नै बढी देखिने गरेका छन् । आज हामी नेपाली फिल्मका १० हिरो, को के गर्दैछन् भन्ने बिषयमा यहाँ चर्चा गर्दछौं । 



१. दयाहाङ राईः यदि विगत केही बर्षदेखि नेपाली फिल्म क्षेत्र कुनै नायकको वरिपरी घुमेको छ भने, त्यो नायक दयाहाङ राई हुन् । दयाले एक बर्षमा एक दर्जन फिल्ममा अभिनय गरिरहेका छन् । बक्स अफिसमा पनि उनको नै हालिमुहाली छ । फिल्म क्षेत्रमा दयाहाङ एकातिर, अरु नायकहरु एकातिर छन् । दयाहाङले अभिनय गरेका ‘जारी, बिहे पास, निरफूल, नांगो गाउँ, दिमाग खराब’ यो बर्ष रिलिज भैसकेका छन् । यसमध्ये, ‘जारी, नांगो गाउँ र दिमाग खराब’ले बक्स अफिसमा सफलता हासिल गरे ।

यस्तै, दयाको यो बर्ष ‘हात्तीछाप, दयारानी, रंगेली र डिग्री माइला’ रिलिजको तयारीमा छन् । दया यतिबेला फिल्म ‘एन्जिला’को छायांकनमा व्यस्त छन् । उनले ‘बरिष्ठ बलराम, लोकल हिरो, कार्साङ, डिग्री माइला’को छायांकन गर्न बाँकी नै छ । यी बाहेक केही निर्माता दयाको समय पर्खिएर बसिरहेका छन् । यसकारण नेपाली फिल्म क्षेत्रको सर्वाधिक व्यस्त नायकमा दया अगाडि छन् । 



२. अनमोल केसीः विगत एक बर्षदेखि कुनै पनि फिल्ममा काम नगरेका नायक अनमोल केसीले सोमबारबाट फिल्म ‘फर्की फर्की’को छायांकन सुरुवात गरेका छन् । गतबर्ष फिल्म ‘छड्के २’ असफल भएपछि उनले नयाँ फिल्मको काम सुरु गर्न सकेका थिएनन् । तर, फिल्म ‘फर्की फर्की’को कथा मन परेपछि अनमोल काममा फर्किएका हुन् । यसपछि, उनले ‘जेरी अन टप’को छायांकन पनि गर्नुपर्नेछ । 



३. विपिन कार्कीः नायक विपिन कार्की विगत ३ सातादेखि फिल्म ‘महाजात्रा’को छायांकनमा व्यस्त छन् । उनी अभिनित यो फिल्मको छायांकन काठमाडौंका विभिन्न क्षेत्रमा भइरहेको छ । यसअघि विपिन फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को प्रचारमा व्यस्त देखिएका थिए । यो फिल्म बक्स अफिसमा सफल भएपछि विपिनलाई केही राहत भयो । विपिनले ‘महाजात्रा’को छायांकन सकेपछि ‘काजी’को काम गर्नेछन् । यसपछि उनले फिल्म ‘उनको स्विटर’का लागि पनि समय दिनुपर्नेछ । 



४. प्रदीप खड्काः गतबर्ष फिल्म ‘प्रकाश’को छायांकन सकेपछि नायक प्रदीप खड्का फिल्मको सेटमा फर्किएका छैनन् । प्रदीपले नयाँ फिल्म ‘कामिनो र एक्स ९’ साइन गरेका छन् । तर, यी दुबै फिल्मको छायांकन सुरु हुन सकेको छैन । यी दुई फिल्म बन्छन् या बन्दैनन् पनि पक्का भएको छैन । बरु, प्रदीप एक भारतीय फिल्म खेल्नका लागि भारतमा नै दौडधुप गरिरहेका छन् । उनले, तत्काल नेपाली फिल्मको काम सुरु गर्ने संभावना छैन । 



५. सौगात मल्लः नेपाली फिल्म क्षेत्रका अर्का व्यस्त नायक हुन्, सौगात मल्ल । सौगात मल्ल अभिनित ‘पशुपति प्रसाद २’ दशैंमा रिलिज भयो । तर, यो फिल्मको प्रचारमा सौगात खासै देखिएनन् । सौगात विगत केही समयदेखि फिल्म ‘अगस्त्य’को छायांकनमा व्यस्त छन् ।

यो फिल्मका लागि उनले १० केजी तौल बढाएर फेरि १० केजी तौल घटाएका छन् । यसपछि, सौगातले नयाँ फिल्म ‘बलिदान’मा काम गर्नेछन् । सन्तोष सेनको निर्देशनमा बन्ने यो फिल्मको छायांकन पौष महिनाबाट सुरु हुनेछ । सौगातले फिल्म ‘पञ्चामृत र कोतपर्व’ पनि साइन गरिसकेका छन् । 



६. खगेन्द्र लामिछानेः नायक खगेन्द्र लामिछाने अभिनित फिल्म ‘दिमाग खराब’ हलमा लागिरहेको छ । यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहँदा खगेन्द्रले नै निर्माण गरेको फिल्म ‘पशुपति प्रसाद २’ले दशैंमा बक्स अफिसमा सुखद कमाई गर्यो । खगेन्द्रले अब फिल्म ‘बरिष्ठ बलराम’को छायांकन सुरु गर्नेछन् । पौष महिनाबाट यो फिल्मको छायांकन सुरु हुने बताइएको छ । योसँगै खगेन्द्र ओटीटी प्लेटफर्म ‘सिनेमा घर’को प्रमोशनमा पनि व्यस्त देखिन्छन् । उनले, अब फिल्म ‘पशुपति प्रसाद ३’को कथा पनि लेख्नुपर्नेछ । 



७. दीपकराज गिरीः नेपाली बक्स अफिसका राजा मानिने नायक दीपकराज गिरीले केही समय अगाडि मात्र नयाँ बाँनेश्वरमा ‘आईएनआई सिनेमाज्’ संचालनमा ल्याएका छन् । जसकाकारण, उनी हलकै प्रमोशनमा बढी समय दिइरहेका छन् । यो बाहेक दीपकराज गिरी नयाँ फिल्मको लेखन कार्यमा पनि व्यस्त छन् । आउँदो बर्षको दशैंमा फिल्म रिलिज गर्ने घोषणा उनले गरिसकेका छन् । जसकाकारण, उनले धमाधम फिल्मको कथा लेख्ने काम गरिरहेका छन् । 



८. पुष्प खड्काः गतबर्ष ३ वटा फिल्म बक्स अफिसमा असफल भएपछि नायक पुष्प खड्का मौन छन् । उनले, कुनै पनि नयाँ फिल्म साइन गरेका छैनन् । तर, पुष्पको व्यस्तता म्युजिक भिडियोमा भने सर्वाधिक धेरै देखिन्छ । पुष्प खड्काले गतबर्ष ‘कृष्णलीला, मनसँग मन र तिम्रो मेरो साथ’मा काम गरे । यी तिनै फिल्म नचलेपछि उनले नयाँ फिल्म साइन गर्न डराइरहेका छन् । तर, म्युजिक भिडियो भने उनको महिनामै दर्जन बढी सार्वजनिक भैरहेका छन् । 



९. आकाश श्रेष्ठः नायक आकाश श्रेष्ठको यो बर्षको भदौंमा ‘हिड्दा हिड्दै’ फिल्म रिलिज भयो । यो  फिल्म बक्स अफिसमा असफल भएपछि आकाशको हातमा पनि नयाँ फिल्म छैन । फिल्म नभएपनि आकाश म्युजिक भिडियोमा भने व्यस्त छन् । उनको हातमा भिडियोको अभाव छैन । यो बाहेक आकाश प्रेमिका करुणा श्रेष्ठसँग विदेश यात्रामा पनि केही हप्ता अगाडि व्यस्त देखिएका थिए । आकाशको व्यस्तता पनि म्युजिक भिडियोमा मात्र देखिएको छ । 



१०. मुकुन भुषालः नेपाली फिल्म क्षेत्रमा नायक मुकुन भुषालको व्यस्तता पनि गज्जबको छ । मुकुनले अभिनय गरेको ‘ऐँचो पैँचो र गणपती’ भदौ महिनामा रिलिज भए । यी दुबै फिल्म बक्स अफिसमा चलेनन् । तर, पनि मुकुनको हातमा फिल्मको अभाव भने छैन । उनले, नयाँ फिल्म ‘ज्वाँई साब’को छायांकन सुरु गर्नुपर्नेछ । यस्तै, उनी अभिनित फिल्म ‘बिच्छेद’ पनि रिलिजको तयारीमा छ । उनले फिल्म ‘भाँडाकुटी र बिजुली’ पनि साइन गरेका छन् । तर, कुन फिल्मको पहिला छायांकन सुरु हुन्छ पक्का छैन । 

नेपाली फिल्म अहिले हामीले माथि उल्लेख गरेका नायकहरुको वरिपरी नै घुमिरहेको छ । यी बाहेक अन्य केही नायकहरु पनि छन्, जो जसोतसो फिल्म क्षेत्रमा टिकिरेका छन् ।