दिनेशको ‘पूजार सार्की’मा आर्यन र प्रदीप फाइनल

निर्देशक दिनेश राउतले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘पूजार सार्की’मा नेपाली फिल्म क्षेत्रका दुई स्टार नायकलाई फाइनल गरिएको छ । 

दिनेशले केही दिन अगाडि मात्र यो फिल्म निर्देशनको घोषणा गरेका थिए । फिल्ममा नायकद्धय आर्यन सिग्देल र प्रदीप खड्का फाइनल भएका हुन् ।

फिल्मको टिमका एक सदस्यले मेरो फिल्मसँग यो कुराको पुष्टि गरेका छन् । 

माघ महिनाबाट छायांकनमा जान लागेको यो फिल्ममा विकास सुवेदीको लेखन छ । फिल्ममा सुभाष भुसालको लगानी रहने पक्का भइसकेको छ । 

यो फिल्मले जातीय विभेद विरुद्धको कथालाई उठान गरेको लेखक सुवेदीले बताएका छन् । फिल्मले सामाजिक रुपान्तरणका लागि हिँडेको एक युवाले कसरी आफ्नो थरको पछाडि सार्की राख्छ भन्ने कथालाई उठान गर्ने वुझिएको छ । 

दिनेशले नायक प्रदीप खड्कासँग गतबर्ष रिलिज भएको फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए । यस्तै, नायक आर्यन सिग्देलसँग उनले ‘आई एम सरी, नोभेम्बर रेन’ लगायतका फिल्ममा दिनेशले सहकार्य गरिसकेका छन् । 

आर्यन र प्रदीपले भने पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । आर्यन र प्रदीप जस्ता दुई स्टार नायक पर्दामा एकैसाथ देखिँदा यसले बजारमा तरंग सिर्जना गर्ने पक्का छ । फिल्मको छायांकन माघ महिनाबाट सुरु हुनेछ ।