‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

शंकर घिमिरेको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘तेल भिसा’मा नायिका वर्षा राउत पनि अनुबन्धित भएकी छिन् । वर्षा अनुबन्धित भएसँगै फिल्मको लाइनअप पुरा भएको छ ।

यो फिल्ममा नायक विपिन कार्की केही साता अगाडि नै फाइनल भइसकेका थिए । विपिन र वर्षाले छैटौँ पटक पर्दा शेयर गर्न लागेका हुन् । यसअघि उनीहरूले ‘जात्रा, गोपि, जात्रै जात्रा, के घर के डेरा र महापुरुष’मा पर्दा शेयर गरिसकेका छन् । 

फिल्मको मुख्य कलाकार फाइनल भएपछि निर्माणपक्षले प्रदर्शन मिति समेत तय गरेको छ । यो फिल्म आउँदो बर्षको भदौ २८ गतेबाट रिलिज हुने पक्का छ । तीजको अवसर पारेर फिल्म रिलिज गर्न लागिएको हो ।

फिल्ममा विपिन कार्की, वर्षा राउत, ऋचा घिमिरे र वुद्दि तामाङ फाइनल भएका हुन् । यो फिल्ममा विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं निर्माताको रुपमा छन् । 

सेभेन सिज इन्टरटेन्मेन्ट र वेल डन क्रियसनको संयुक्त निर्माणमा तयार हुने यो फिल्मको छायांकन चैत्र महिनाको दोस्रो साताबाट सुरु हुनेछ । यो फिल्मले डायस्पोरामा जाने नेपालीहरूको कथालाई प्रस्तुत गर्नेछ । सुशन प्रजापतिको छायांकन रहने फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछन् ।