रंगकर्मी विमललाई क्रियटिभ डिरेक्टरको अवार्ड

रंगकर्मी विमल सुवेदीले  थाइल्याण्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्डमा मोस्ट क्रियटिभ डिर्क्टरको अवार्ड प्राप्त गरेका छन् ।

इ प्लानेट इन्टरनेशनल सिंगापुर र थाइल्याण्डको संस्थाले आयोजना गरेको यस अवार्डका लागि संसारभरका ३० बढी देशबाट ८९७० दाबेदार थिए । यी सबैलाई उछिन्दै विमलले सो अवार्ड हात पारेका हुन् । केन्याका राजदूत लिन्ड्से किमवलकिपतिनेस र मंगोलिया राजदूतावासका प्रतिनिधिले संयुक्त रुपमा विमल सुवेदीलाई अवार्ड हस्तान्तरण गरेका थिए । 

विमलले यसअघि पनि भारतबाट ओटिजी अन्तर्राष्ट्रिय अवार्ड, मेटा अवार्ड र गत वर्ष मलेसियाबाट अन्तर्राष्ट्रिय हेरिटिज अवार्ड प्राप्त गरेका थिए । यस बाहेक उनका कामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा विभिन्न अवार्डहरू हात पारिसकेका छन् । अभिनयबाट आफ्नो यात्रा सुरु गरेका विमल सुवेदी, नाट्य निर्देशनमा अत्यन्त सफल निर्देशक मानिन्छन् । 

दिल्लीको नेसनल स्कुल अफ ड्रामाका ग्रयाजुएट विमल राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा परिचित नाम हो । उनको लेखन तथा निर्देशन रहेका नाटक २५ भन्दा बढी देशका मञ्चमा प्रस्तुत भइसकेका छन् । उनले विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयतथा संघ संस्थाहरुसँग सहकार्य गरिसकेका छन् ।

विमल सुवेदी थिएटर भिलेज नेपालका फाउण्डर तथा निर्देशक पनि हुन् । थिएटर भिलेज नेपालमा नयाँ शैलीका नाटक मञ्चन गर्ने समूहको रुपमा स्थापित छ । 

विमलका नाटकमा मनोरञ्जनभन्दा पनि सामाजिक अवस्था, राजनीति सिमान्तकृत आवाज तथा समसामयिक कुराहरूको मिश्रण पाइन्छ । यही कारण उनका नाटक देशसँगै विदेशका मञ्चमा पनि प्रशंसित छन् । 

२०१३ मा विमलले थाइल्याण्डमा, ४ हजार भन्दा बढीको संख्यामा रहेका महिला कैदीलाई थाइल्याण्डकै केन्द्रीय जेल भित्रै थिएटर फर रिह्याविलिटेशन वर्कशप गरेका थिए । जसले उनीहरूमाथि परिवर्तनकारी काम गरेको थियो र यसको थाइल्याण्डको प्रेसले पनि प्रशंसा गरेको थियो ।  विमलका यस्ता धेरै कामहरू र उनका २० वर्ष लामो योगदानको कदर गर्दै थाइल्याण्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत, मोस्ट क्रिएटिभ डिरेक्टर अवार्ड २०२३ प्राप्त गरेका हुन् । 

कार्यक्रम, थाइल्याण्डको राजधानी नजिकै, पातुमथानीमा यही मंसिर ९ गते शनिबार सम्पन्न भएको थियो ।