‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’ मङसिर २९ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मको प्रचारका लागि कलाकारहरू दौडधूप गरिरहेका छन् । निर्माणपक्षले फिल्मको हाइप बढाउनका लागि हालै मात्र एक गीत छायांकन गरेर रिलिज गर्यो । फिल्मको ‘ए बाबै नी’ बोलको गीतको भिडियो तयार पार्न मात्र निर्माणपक्षले ११ लाख बढी खर्च गरेको बताइएको छ । 

यसैबिच, मेरो फिल्मसँग कुरा गर्दै फिल्मका निर्देशक उदय सुब्बाले सामाजिक कथामा ‘दुई कदम’ बनाएको बताएका छन् । 

निर्देशक उदय भन्छन्–‘यो फिल्मले मुख्यतया प्रेमको नै कथा भन्ने हो । तर, दर्शकहरुले फिल्ममा थुप्रै नयाँ स्वाद पनि पाउनुहुनेछ । हामीले पहिलो हाफमा लभ स्टोरीलाई नै महत्व दिएका छौँ । तर, दोस्रो हाफमा भने कुनै ठाउँको सांकृतिक परम्परा र रहनसहनसँग फिल्म जोडिएको छ ।’

फिल्ममा मुख्य नायक र नायिका नै नयाँ छन् । फिल्ममा इओन लिम्बु र सिमोन गिरीको लभ स्टोरीलाई मुख्य रुपमा देखाइएको छ । नयाँ कलाकारको विषयमा उदयले भने–‘जो कोही कलाकार पनि सुरुमा नयाँ भएर नै पछि पुरानो हुने हुन् । हामीले नयाँ कलाकारलाई स्थान दिएपछि पो उनीहरू पुरानो हुन्छन् । सुरुमा राजेश हमाल पनि त नयाँ थिए । हामीले नयाँलाई स्थान नदिए कसले दिन्छ, होइन र ?’

तर, नयाँ कलाकार लिएर फिल्म बनाउँदा केही चुनौती हुने उदय स्विकार गर्छन् । उनले, फिल्मको कथाले नयाँ अनुहार नै माग गरेकाले इओन र सिमोनलाई लिएको बताए । उनले, दर्शकहरुले नयाँ कलाकारहरूलाई माया गर्ने विश्वास व्यक्त गरे । 

यो फिल्मको लगानी डेढ करोड माथि रहेको उदय बताउँछन् । उनले, फिल्म राम्रो रहेकाले पनि लगानी उठ्नेमा आफू ढुक्क रहेको दाबी गरे । फिल्मको छायांकन पूर्वका धरान, धनकुटा, इलाम, झापा र मुस्ताङमा गरिएको छ । 

अजम्बरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूको लगानी छ । फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत,  राजु किरातीको द्वन्द्व निर्देशन छ ।

फिल्ममा इओन र सिमोनको साथमा सुनील थापा, गौरव पहारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।