एक बर्षदेखि पुष्पले किन साइन गरिरहेका छैनन् फिल्म ?

नायक पुष्प खड्काले विगत १ बर्षदेखि नयाँ फिल्म साइन गरेका छैनन् । गतबर्ष रिलिज भएका ३ वटा फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गरेपछि पुष्पले नयाँ फिल्म साइन गर्न समय लगाएका हुन् । 

पुष्प फिल्ममा नदेखिए पनि म्युजिक भिडियोमा भने निकै व्यस्त छन् । अहिले उनी फिल्ममा काम गरिहाल्ने मुडमा पनि छैनन् । 

पुष्पले मेरो फिल्मसँग कुरा गर्दै भने–‘केही फिल्मको अफर त आएको छ । तर, गतबर्ष मेरा ३ वटा फिल्म असफल भएकाले गर्दा पनि मैले सोचेर काम गर्नुपर्छ । बरु, समय लगाउँछु तर हतारमा काम गर्दिनँ भनेर नै म मौन बसेको हुँ ।’

पुष्पले आफूले अहिलेसम्म नयाँ फिल्म साइन नगरेको बताए । पुष्पले काम गरेको फिल्म ‘मंगलम’बाट उनको अभिनयले चर्चा पाएको थियो । यसपछि, उनले ‘मारुनी’मा काम गरे, जसले उनलाई चर्चा दिलायो । यसपछि भने पुष्पले काम गरेका फिल्मबाट उनको खासै चर्चा हुन सकेको छैन । 

पुष्प गतिलो कथाको खोजीमा छन् । उसो त उनलाई एक्सन फिल्म गर्न मन छ । तर, आफूले खोजे जस्तो अफर नआउँदा उनले हतार नगर्ने निर्णयमा पुगेका हुन् ।

पुष्पले भने–‘हतारमा फिल्ममा काम मात्र गरेर पनि के गर्नु होइन र ? जबसम्म मन पर्ने कथा आउँदैन, म समय लिन्छु । तर, दर्शकका लागि विशेष फिल्म लिएर आउँछु ।’