बिदेश यात्राबाट फर्किएपछि मात्र नयाँ फिल्ममा काम गर्छुः स्वस्तिमा खड्का

लगातार फिल्म असफल भएपछि नायिका स्वस्तिमा खड्का हैरान थिइन् । उनको कामले प्रशंसा पाएपनि बक्स अफिसमा फिल्म असफल हुँदा समस्या परिरहेको थियो ।

तर, दशैँ र तिहारमा रिलिज भएका २ फिल्मले स्वस्तिमाको असफलताको बाटोलाई किनारा लगाइदिएको छ । अहिले उनी फुरुङ्ग छिन् । भदौमा रिलिज भएको फिल्म ‘ऐँचो पैँचो’देखि कार्तिकको अन्तिम साता रिलिजमा आएको फिल्म ‘दिमाग खराब’सम्म आइपुग्दा, स्वस्तिमा निकै व्यस्त भइन् । फिल्मको प्रचारमा उनी ३ महिना दौडधूप गरिन् । 

यसैले, उनी करिब डेढ महिना विश्राम लिने सोचमा छिन् । मेरो फिल्मसँगको कुराकानीमा स्वस्तिमाले भनिन्–‘करिब डेढ महिना म कुनै पनि फिल्मको सुट गर्दिनँ होला । विदेश यात्रामा जाने योजनामा छु । उसो त, मेरो विदेश यात्रा पनि फिल्मकै कामको सिलसिलामा हुनेछ ।’

हुनत, स्वस्तिमालाई फिल्मको अफर नआएको होइन । उनी, नयाँ फिल्मको स्क्रिप्ट पनि पढिरहेकी छिन् । तर, करिब डेढ महिना भने कुनै पनि काम सुरु नगर्ने उनले बताइन् । 

स्वस्तिमा आफू मेकरको रोजाइमा परिरहेको बताउँछिन् । उनले भनिन्–‘मैले फिल्म रोज्नु परेको छैन । म कुनै पनि फिल्मको रोजाई भन्दा पनि आफ्नो काम राम्रो गर्नुपर्छ भन्ने कुरामा बढी केन्द्रित हुन्छु ।’

स्वस्तिमा आफैले पनि फिल्म गर्ने तयारी गरिरहेकी थिइन् । तर, फिल्म ‘दिमाग खराब’को काममा व्यस्त भएपछि उनी यतै व्यस्त भइन् । अब, विदेश यात्रा सकेपछि मात्र कुन फिल्ममा काम गर्ने भन्ने निर्णय लिने उनले मेरो फिल्मसँग बताइन् ।