‘एडल्ट’को नाममा ‘एनिमल’माथि धेरै उदार बनेको सेन्सर बोर्ड

शुक्रबारदेखि रिलिजमा आएको बलिउड फिल्म ‘एनिमल’माथि नेपालको सेन्सर बोर्ड धेरै उदार बनेको छ । नेपाली फिल्मका साना–साना कुरामा पनि कैंची चलाउने सेन्सर बोर्ड विदेशी फिल्ममाथि उदार बनेको घटना त पहिलो पटकको होइन । 

तर, ‘एनिमल’लाई ‘एडल्ट’ सर्टिफिकेट दिएर नेपालको सेन्सर बोर्डले केही दृश्य र संवादमा बढी नै उदारता देखाएको छ । जुन, उदारता नेपाली फिल्मका लागि भने पाइँदैन । 

फिल्म भित्र ‘घाटी रेटेको’ दृश्य छ । ‘एडल्ट सर्टिफिकेट’ दिए पनि यो दृश्यमा ‘ब्लर’ गर्न आवश्यक थियो । तर, यो दृश्यमा सेन्सर बोर्डका कर्मचारीहरूले आँखा चिम्लिएका छन् । १६ बर्ष भन्दा माथिका धेरै दर्शकलाई यो दृश्य हलमा हेर्दा असहज हुन्छ । तर, सेन्सर बोर्डले यसमा कैँची चलाउन आवश्यक ठानेको छैन । 

फिल्ममा बोलिएका केही संवादहरू ‘एडल्ट सर्टिफिकेट’ दिएर पनि सेन्सर गर्नुपर्ने खालका छन् । जुन संवादहरू नेपाली फिल्ममा ‘म्यूट’ गर्न लगाइन्छ । तर, ‘एनिमल’को हकमा भने सेन्सर बोर्डले कान थुनेको छ । 

‘हेलमेट’ नलगाएको दृश्यमा ‘ट्राफिक नियमको पालना गरौँ’ भन्ने लेख्न आवश्यक छ । तर, ‘एनिमल’ यस्तो लेखेको भित्र पाइँदैन । फिल्म भित्र नायिकाको एउटा न्यूड दृश्य पनि छ । यो दृश्यमा पनि नेपालको सेन्सर बोर्डले आँखा चिम्लिएको छ । 

यो विषयमा सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले मेरो फिल्मसँग भने–‘हामीले ‘एडल्ट सर्टिफिकेट’ दिएका कारण कुनै पनि दृश्यमा कैंची नचलाएका हौँ । १६ बर्ष माथिका दर्शकका लागि यत्तिको दृश्य पाच्य हुन्छ भन्ने लागेर पनि नकाटेका हौँ । घाटी रेटेको दृश्यमा ब्लर गर्नुपर्छ कि भन्ने हामीलाई पनि लागेको थियो । तर, सबै कुरा काट्न लगाएर ‘एडल्ट सर्टिफिकेट’ दिनुको अर्थ रहँदैन भन्ने लागेर कुनै पनि दृश्यमा कैंची चलाएनौँ ।’

सेन्सर बोर्डले भोलीबाट अनुगमनलाई तीव्र बनाउने बताएको छ । तर, ‘एडल्ट सर्टिफिकेट’ दिएपछि १६ बर्ष तलका बालबालिकालाई फिल्म हलमा पूर्ण रुपमा प्रतिबन्ध नै लगाउनुपर्छ । यो फिल्ममा त अझ, बलियो अनुगमन भएन भने ‘एडल्ट सर्टिफिकेट’ दिनुको अर्थ नै रहँदैन । तर, नेपालमा सेन्सर बोर्डले दिने सर्टिफिकेटको औचित्य खासै रहँदैन । 

‘एनिमल’लाई ‘एडल्ट सर्टिफिकेट’ दिएर निकै नै उतारदता देखाएको सेन्सर बोर्डले अब यस्तै दृश्य र संवादमा नेपाली फिल्ममाथि उदारता देखाउँछ या देखाउँदैन हेर्न बाँकी छ । तर, नेपाली फिल्मका निर्मातालाई सेन्सरले अनावश्यक रुपमा दृश्य र संवाद काट्न लगाएर दुःख दिएको गुनासो बारम्बार सुन्ने गरिन्छ ।