‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

फिल्म ‘बुलबुल’ निर्देशन गरेर चौतर्फी तारिफ कमाएका निर्देशक विनोद पौडेलले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । यो फिल्मको नाम ‘भूठान’ राखिएको छ । नेपालीमा ‘भूठान’ र अङ्ग्रेजीमा ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’ नाम राखिएको यो फिल्मको मुख्य कलाकारको रुपमा नायक हरिवंश आचार्य देखिदैछन् ।

फिल्ममा हरिवंशको साथमा दयाहाङ राई, जोयस पाण्डे, अनुराधा मजुमदार, पूजा चन्दलामा, ऋचा घिमिरे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी, कौशिला खनाल कर्माचार्य  फाइनल भएका छन् । यो फिल्ममा हलिउडका केही कलाकारलाई समेत अनुवन्धित गरिने निर्माणपक्षले बताएको छ । फिल्मलाई राजेन्द्र ठाकुरीले निर्माण गर्दैछन् । 

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको यो फिल्म सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्क्रिप्ट पिचिङ्गमा  समेत छानिएको थियो ।

निर्माता अविरल थापाले यो फिल्म विश्व बजारको लागि बनाउन लागिएको र अन्तर्राष्ट्रिय फिल्मको भिडमा अलग्गै पहिचान कायम गर्नेमा आफू विश्वस्त रहेको बताए ।  कार्यकारी निर्माता एल. एन अधिकारी र अर्का निर्माता अमिताभ जोशीका अनुसार विश्वभरिका सम्पूर्ण प्लेटफर्महरुमा र फिल्म हलहरुमा हलिउडकै वितरकको संग्लग्नतामा यो फिल्मलाई प्रदर्शन गरिनेछ ।

फिल्मकी कार्यकारी निर्माता कौशिला खनालले भुटानी शरणार्थीहरुको कथा र समवेदनालाई लिएर विगत लामो समयदेखि अत्यन्तै मिहिन ढंगबाट लेखक एवं निर्देशक पौडेलले काम गरिरहेको देखेर यसमा जोडिएको बताइन् ।

यो फिल्मको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र ‘बुलबुल’कै निर्माता अविरल थापा रहनेछन् । साथै कार्यकारी निर्मातामा एल एन अधिकारी र कौशिला खनाल कर्माचार्य छन् भने  शैलेस मैनाली, दीपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं) ,राजु पौडेल, संजीवभार श्रेष्ठ, नवराज पराजुलीको सह–निर्माण रहनेछ । फिल्मको सम्पूर्ण छायाँकन अमेरिकाको ओहायो राज्यमा हुनेछ भने फिल्मलाई नेपाली र अंग्रेजी भाषामा निर्माण गरिनेछ । फिल्मको छायांकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा ल्याउने तयारी निर्माणपक्षको छ । 

यो फिल्ममा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ्ग, उज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल, समुन्द्र राज घिमिरेले फिल्म निर्देशनमा सहयोग गर्नेछन् । 

यो फिल्मलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्ने छ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन् ।