दयाहाङ्ग र रिस्मा फेरि एकसाथ ‘रिमै’मा देखिदै

अभिनेत्री रिस्मा गुरुङ र अभिनेता दयाहाङ्ग राई ‘कबड्डी’ रिलिज भएको ९ वर्षपछि फेरि एकसाथ जोडीका रुपमा देखिने भएका छन् ।

ब्लकबस्टर 'कबड्डी' सिरिजको पहिलो भागमा काजीकी सपनाकी रानी 'मैंया' बनेकी रिस्मा नयाँ फिल्म 'रिमै'मा पुनः दयाहाङ्गसँग फेरी पर्दामा देखिने भएकी हुन्।

निर्देशक खिल बहादुर गुरुङ्गले चर्चित जोडी फेरी पर्दामा देखाउन लागेका हुन् । यो फिल्म गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा निर्माण गर्न लागिएको हो । 

फिल्ममा दया र रिस्माका अलावा विरबल घले प्रमुख भूमिकामा देखिने छन्। 'कबड्डी' फिल्ममा दया र रिस्माको नोकझोकलाई दर्शकहरुले खुबै मनपराएका थिए। यो फिल्मले त्यो 'केमिस्ट्री'लाई पुनः ताजा गराउने अनुमान गर्न सकिन्छ।

उपेन्द्र सुब्बा फिल्मका पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ्ग र अभिनेता घलेले लेखेका हुन्।

फिल्मको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ्ग(युके), जित यात्री गुरुङ्ग (नर्वे) तथा सचि कुमारी घले रहेका छन् भने दुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा फिल्ममा सह-निर्माताका रुपमा रहनेछन्।

फिल्मको हाल प्रिप्रोडक्सन चलिरहेको 'रिमै'को चैत्रमा फ्लोरमा जाने गरी तयारी भइरहेको छ।

फिल्म 'रिमै'लाई वितरण आरआर फिल्मस्ले गर्दैछ।