प्रहरीको यूनिफर्म प्रयोग भएपछि युट्युबबाट हट्यो सुशान्तको गीत

गायक तथा मोडल सुशान्त केसीको नयाँ गीत ‘झ्यालबाट हेरी’ युट्युबबाट हटाइएको छ । 

भिडियोमा मोडल बनेकी नायिका उपासना सिंह ठकुरीले प्रहरीको यूनिफर्म लगाएकी छिन् । नेपाल प्रहरीसँग अनुमति नै नलिई यो यूनिफर्म प्रयोग भएपछि गीतको भिडियो हटाइएको हो ।

गायक केसीले सामाजिक संजालमा यो विषयमा जानकारी दिँदै अहिलेलाई गीत हटाइएको र के गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएका छन् । 
नेपाल प्रहरीले केही समय अगाडि एक सूचना जारी गर्दै भिडियोमा प्रहरीको यूनिफर्म प्रयोग गर्नका लागि अनुमति लिनुपर्ने बताएको थियो ।

विशेषगरि, गायक प्रकाश सपुतको गीतमा स्वस्तिमा खड्काले प्रहरीको यूनिफर्म लगाएर अनावश्यक संवाद बोलेपछि प्रहरीले सूचना निकालेको थियो ।

प्रहरीले प्रहरीको यूनिफर्म प्रयोग गर्नु परेको खण्डमा नक्साल प्रहरीमा सम्पर्क गरेर अनुमति लिनुपर्ने बताएको थियो ।