खोई बेनिशा ?

फिल्म ‘हात्तीछाप’को आइतबार टिजर सार्वजनिक गरियो । सार्वजनिक टिजरमा फिल्मका अधिकांश कलाकार अटाएका छन् । 

टिजरमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, सुष्मा निरौला लगायतका सबै कलाकार देखिएका छन् । 

टिजरमा फिल्मका अधिकांश कलाकार अटाउँदा मुख्य नायिका बेनिशा हमाल भने कही कतै अटाएकी छैनन् । निर्माण टिमले टिजरका लागि तयार पारेको काउनडाउनमा समेत बेनिशाको तस्विर प्रयोग गरिएको छ । तर, टिजरमा उनको अनुहार नै देखाइएको छैन । 

स्रोतका अनुसार फिल्मको बाँकी छायांकन केही दिन देखि भइरहेको छ । फिल्मको पहिलो चरणको छायांकनमा बेनिशाको कुनै पनि दृश्य खिचिएको थिएन । निर्माणपक्षले दोस्रो चरणको छायांकनका क्रममा बल्ल बेनिशालाई फिचर गर्ने तयारी गरेको छ । यसैले, उनको कुनै पनि दृश्य टिजरमा समावेश नभएको हो । तर, फिल्ममा आजसम्म टेक नै नदिएकी बेनिशाको अनुहार भने पोष्टरमा प्रयोग भइरहेको छ । 

यो फिल्म माघको २६ गतेबाट रिलिज हुँदैछ । फिल्ममा निर्माणपक्षले नायिका मिरुना मगरको समेत इन्ट्री गराइसकेको छ । निर्माणपक्षले प्रमोसन होस् भन्ने हेतुले दयाहाङ र मिरुना मगरलाई राखेर एउटा गीतको छायांकन गरेको हो । उक्त गीतमा निर्माण टिमले दयाहाङ र मिरुनासँगै प्रकाश सपुत समेतलाई नृत्य गराएको छ । फिल्मको हाइप अझै बढाउन र प्रचार प्रसारमा सहज होस् भन्नलाई गरिएको बुझिएको छ । 

दोस्रो चरणको छायांकनको सेड्यूल लामो छैन । यसैले, बेनिशा हमाल फिल्ममा अतिथि भूमिकामा रहेको बुझ्न गाह्रो पर्दैन । फिल्मको मुख्य भूमिकामा नायिका उपासना सिंह ठकुरी छिन् । तर, फिल्मको प्रचारदेखि पोष्टरमा भने बेनिशाले राम्रै स्थान पाइरहेकी छिन् ।

फिल्मको टिमले नाम चलेका अधिकांश कलाकारलाई फिल्ममा समावेश गरेको छ । फिल्ममा बेनिशा हमाल, मिरुना मगर लगायतका कलाकारलाई समेत अतिथिको रुपमा भित्र्याएर फिल्मको राम्रै चर्चा कायम गर्ने सोचमा निर्माणपक्ष छ । साथै, दर्शकहरुको नजरमा गत वर्षदेखि दया र मिरुनाको जोडी परेकाले उनीहरूको अनुहार देखाएर फिल्म सफल बनाउन लागि परेका देखिन्छ ।