पलाँस नायकको आक्रोश–‘हामीलाई भिलेनमा पत्याउनन्, एउटै कलाकारलाई कती हेर्नु ?

नायिका रेखा थापासँग फिल्म ‘पलाँस’मा काम गरेका कलाकार अयुब केसीले फिल्म क्षेत्रले कसरी कलाकारहरूलाई विदेशिन वा आत्महत्या गर्न बाध्य बनाउँछ भन्दै गुनासो गरेका छन् ।

उनले लेखेका छन्–‘फिल्म पनि कति बन्न लागेका हुन् ? मनसुनमा च्याउ उम्रे जसरी । सानो बजार छ । पैसा कसरी उठ्छ ? अनि कथा एउटै, कलाकार एउटै, कति हेर्ने एउटै कलाकारका एउटै लुक । भए जति फिल्म साइन गर्यो अनि कहाँ लुकमा मिहिनेत गर्न समय हुन्छ ? फेरि मेकरहरु के भाका । जो जस्तो चल्यो त्यसलाई त । त्यस्तै कथा बनाउने । होइन कथा अनामनगरमा बसेर पाइन्छ र ? गाउँ तिर लाग्नु पर्यो नि । खाली हिमाल देखायो । धन्न हिमाल छ र देखाउँछौ । नत्र के ?’

अयुबले फिल्मका लागि कथा नभएको खण्डमा आफूसँग माग्न आउन पनि आग्रह गरेका छन् । उनले आफूसँग कथाको खानी भएको र निर्माण गर्न पनि २–४ करोड नलाग्ने उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्–‘अरे यार, हिरो खेलाओ भन्या पनि होइन । भिलेन नै देओ न । त्यो पनि पत्याएनन् । १७ बर्ष पेसामा लागेँ कुनै कसरी नछोडी । तर, उपलब्धि शून्य । १०–१२ फिल्म, सय–दुई समय भिडियो । ८–१० विज्ञापन । अझै मलाई सोधपुछ गर्छन् । कुन कुन ? मैले माने समय परिवर्तन भयो । तर, म भित्रको कला त अझै निखारिएर आएको छ नी ।’

उनले सबैलाई काम दिएर फिल्म बनाउन आग्रह गरेका छन् । उनले, नेपाली फिल्मले अस्कर अवार्ड पाएको यो जुनीमा सुन्न नपाइएला भन्दै प्रश्न समेत उठाएका छन् ।

अयुब अगाडि लेख्छन्–‘कलाकारहरुले आत्महत्या यसै गर्या होइन रहेछ । देश छाडेको यसै होइन रहेछ । पीडा मै भएर त होला ? ठिकै छ, म एउटा कराएर पिना नसुक्ने होइन । आफै कमाउन लाग्छु, यत्तीका गएका छन्, म एउटा जाँदा के नै कमी होला । ५० बर्षमा आएर दबदबा गर्छु । आफै बनाउँछु । आफ्ना लागि साथी हो । कसैले कसैलाई केही गर्दैन । यो मेरो मात्र कथा होइन ।’

अयुबले फिल्म क्षेत्रमा बलेका मानिसहरूको पछाडि मात्र दगुर्ने शैली रहेको तर्फ इङ्गित गर्दै, प्रतिभा भएर पनि काम नपाएका कलाकार धेरै भएको तर्फ सबैलाई सचेत गराउन खोजेका छन् ।