‘एनिमल’मा विपिनलाई कुन भूमिकाका लागि अफर गरिएको थियो ?

यदि, सबै कुरा मिलेको भए हलमा बिष्फोटक व्यापार गरिरहेको फिल्म ‘एनिमल’मा विश्व भरका दर्शकले नेपाली नायक विपिन कार्कीको पनि अभिनय हेर्न पाउने थिए । 

तर, यही फिल्मका लागि ६ पटक मुम्बई पुगेका विपिन अन्तिममा फिल्ममा समावेश भएनन् । 

यतिबेला फिल्म हलमा बम्पर चलिरहेको समयमा धेरै दर्शकलाई विपिनलाई कुन भूमिकाका लागि अफर गरिएको थियो भन्ने चासो समेत बढेको छ । 

यो विषयमा मेरो फिल्मसँग कुरा गर्दै विपिनले आफूलाई बबी देवलको भाइको भूमिकाका लागि अफर आएको बताए । उनले भने–‘मैले कथा पढ्दाको समयमा बबी देवलको भूमिका केही फरक थियो । अहिले परिमार्जित भएको छ भन्ने सुनेको छु । तर, मलाई बबी देवलको भाइको भूमिकाका लागि अफर आएको थियो ।’

विपिनलाई बबी देवलको ‘ट्रान्सलेटर’को रुपमा अभिनय गर्ने पात्रका लागि अफर आएको थियो । फिल्म ‘सेल्फी किङ्ग’ हेरेपछि सन्दीप रेड्डीले विपिनलाई यो भूमिकामा अफर गरेका थिए । 

यो फिल्ममा बबी देवलको ‘ट्रान्सलेटर’को रुपमा देखिएका पात्रको भूमिकामा अभिनय गरेको भए विपिन राम्रैसँग दर्शक माझ छाप छोड्न सफल हुन्थे । किनकी, फिल्ममा भूमिका लामो नभए पनि प्रभावकारी हुने पक्का थियो ।