दीपक र केदारबिच बाहिरी ब्यानरको एक–एक वटा फिल्म खेल्ने सहमति

फिल्म ‘छक्का पन्जा’को मुख्य टिममा कलाकारद्वय दीपकराज गिरी, केदार घिमिरे र निर्देशक दीपाश्री निरौला छन् । यी तीन कलाकारले बाहिरी ब्यानरको फिल्ममा काम गर्दैछन् ।

दीपकलाई थुप्रै फिल्मबाट अफर आएपनि उनले आमा सरस्वती मुभिजकै ब्यानरमा बनिरहेको फिल्ममा काम गरिरहेका छन् । केदार घिमिरेले पनि फिल्म ‘रामकहानी’पछि अरू फिल्ममा काम गरेका छैनन् । 

तर, सोमबार कलाकार घिमिरेले ‘कङ्गारु’ नामक फिल्ममा काम गर्ने संझौता गरे । यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । 

केदारले बाहिरी ब्यानरको फिल्ममा काम गर्ने पक्का भएसँगै कतिपय दर्शकलाई ‘छक्का पन्जा’को टिम फुटेको हो कि भन्ने भान भएको छ । 

तर, वास्तविक कुरा त्यस्तो होइन । कलाकारद्वय केदार घिमिरे र दीपकराज गिरीले एक–एक वटा बाहिरी ब्यानरको फिल्ममा काम गर्ने सहमति गरेरै काम अगाडि बढाएका छन् ।

विशेष स्रोतका अनुसार, दीपकराज गिरीले पनि आफ्नै ब्यानरको फिल्म भन्दा पहिले बाहिरी ब्यानरको एउटा फिल्ममा काम गर्दैछन् । अहिले, यो फिल्मको कथा लेख्ने काम धमाधम भइरहेको छ । यो फिल्मको नाम केही दिनमै सार्वजनिक गर्ने तयारीमा मेकर छन् । 

केदारले ‘कङ्गारु’ र दीपकले नाम तय नभएको फिल्ममा काम गरिसकेपछि मात्र उनीहरूले होम प्रोडक्शनको नयाँ फिल्मको छायांकन सुरु गर्नेछन् । जुन फिल्मलाई आउँदो बर्षको दशैँमा रिलिज गर्ने घोषणा गरिसकिएको छ ।