वान सिनेमाज्को स्पष्टिकरणः ‘एनिमल’मा दर्शकको प्रवेश पत्र जाँच गरेका छौं

नयाँ बानेश्वरस्थित वान सिनेमाज्माले बालबालिकालाई फिल्म ‘एनिमल’ नदेखाएको र हललाई कारबाही सिफारिश गरेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ ।

कोर प्लान विल्र्डस कम्पनी प्रा. लीका तर्फबाट महाप्रबन्धक उमेश राज गिरीद्वारा जारी विज्ञप्‍तिमा ‘एनिमल’ हेर्न हलमा आएका ६२ भन्दा बढी बालबालिका प्रवेश नगराइ टिकटको पैसा फिर्ता गरेर फर्काएको भनिएको छ ।

साथै, चलचित्र विकास बोर्डको अनुगमन समितिले बेलुकी ६:३० बजेको शोमा ‘एनिमल’ नामक हिन्दी फिल्ममा बालबालिकालाई समेत प्रवेश गराएको भन्दै यस हललाई कारवाही सिफारिश गरेको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण समेत भएको बताएको छ ।

जारी विज्ञप्‍तिमा भनिएको छ, 'हिन्दी फिल्म ‘एनिमल’लाई नेपालको चलचित्र जाँच पास समितीले ‘ए’ प्रमाणपत्र दिएको बिषयमा हामी गम्भिर छौं । ‘एनिमल’ हेर्नका लागि शुक्रबारदेखि सोमबारसम्म यस हलमा आएका ६२ भन्दा बढी बालबालिकालाई हामीले टिकटको पैसा फिर्ता गरेर फर्काएको जानकारी गराउन चाहन्छौं । हामीले दैनिक रुपमा हलमा प्रवेश गर्ने दर्शकको परिचय पत्र जाँच गरेर मात्र प्रवेश दिने गरेका छौँ । साथै, हल भित्र पनि नियमित रुपमा हामीले दर्शकको परिचय पत्र चेक जाँच गरिरहेको स्पष्ट पार्न चाहन्छौं ।'

यस्तै, समाचारको वास्तविकता बुझेर मात्र समाचार प्रकाशन र प्रशारण गरिदिन मिडियाकर्मीहरुलाई अनुरोध समेत गरेको छ ।