देवल परिवारका लागि यो बर्ष कसरी बन्यो बम्पर

बलिउडमा कुनै समय देवल परिवारको राज थियो । धमेन्द्र, सनी देवल र बबी देवलको क्रेज गजबको थियो । तर, लामो समयदेखि यी तिनै जनाको चर्चा मिडियामा खासै हुँदैनथ्यो । 

करिअरमा असफल भएपछि बबी देवलले त रक्सी पिउन थालेका थिए । उनले, आफ्नो जीवनमा नयाँ सपना नै देख्न छाडेका थिए । तर, यो बर्ष देवल परिवारका लागि विशेष बन्यो ।

धर्मेन्द्रले अभिनय गरेको फिल्म ‘रक्की और रानी कि प्रेम कहानी’ले बक्स अफिसमा सुखद कमाई गर्यो । 

यता, नायक सनी देवल अभिनित फिल्म ‘गदर २’ले बक्स अफिसमा धमाका नै मच्चायो । यो फिल्मले बक्स अफिसमा ५ सय करोड माथिको कलेक्शन गर्यो । सनी देवलको बलिउडमा कमब्याक गजबको देखियो ।

हाल हलमा चलिरहेको फिल्म ‘एनीमल’ले बबी देवलको करिअरलाई नयाँ उचाइमा पुर्याएको छ । यो फिल्ममा भिलेनको अवतारमा देखिएका बबीले नबोली नै दर्शकको मुटु हल्लाएका छन् । अहिले उनको कामको सर्वत्र तारिफ भइरहेको छ । योसँगै बबी देवलको बलिउड यात्रा सुखद तरिकाले अगाडि बढ्ने पक्का छ । 

फिल्म ‘एनीमल’ले बक्स अफिसमा ५ सय करोड माथिको कलेक्शन गर्ने देखिएको छ । यस्तो अवस्थामा यो बर्ष बबी र सनी दुवैका फिल्मले बक्स अफिसमा ५ सय करोड कमाउनेछन् । देवल परिवारका लागि यो भन्दा खुशीको बर्ष अरू कुन हुन सक्ला र ?