‘मोडल हन्ट नेपाल २०२३’ मा ३८ प्रतियोगी छनोट

‘मोडल हन्ट नेपाल २०२३’ का लागि ३८ प्रतियोगी छानिएका छन् । यो प्रतियोगिताका लागि १६ जना पुरुष र २२ जना महिला प्रतियोगी छानिएका छन् । 
प्रतियोगिताको यो आठौं सँस्करण हो ।

नेपाली मोडलिङ प्रतियोगितामा वृहत् र स्तरीय मानिएको प्रतियोगिताको यो सँस्करणमा पनि युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने प्रावधान थियो । देशैभरबाट सहभागी थुप्रै मोडलबाट ३८ छानिएका हुन् ।  

छानिएका प्रतियोगीहरु फाइनलका लागि व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, हाउभाउ, फोटोसुट, एक्सप्रेशन लगायतका विषयमा तालिम लिइरहेका छन् ।  

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाको धारणा छ । प्रतियोगितामा साङ्गीतिक कार्यक्रम सहित भव्य रुपमा आयोजना हुने धमलाले जानकारी दिए ।

प्रतियोगिताको फाइनल प्रतिर्स्पर्धा आगामी २९ डिसेम्बर अर्थात् यही पुस १२ गते होटल सोल्टीमा आयोजना हुनेछ ।