ब्रान्ड बजारमा अनमोलः पहिलो पारिश्रमिक १० लाख, मदिराको विज्ञापन नगर्ने

नायक अनमोल केसीको क्रेज युवा–यूवतीमा गजबको छ । यसैले, अनमोलले अभिनय गरेका फिल्महरूले पनि यूवा–यूवतीको ध्यान बढी खिचेका छन् । 

अनमोलको यही क्रेज देखेर उनलाई विभिन्न नाम चलेका कम्पनीहरूले आफ्नो ब्रान्डको प्रमोसनमा आबद्ध गराइरहेका छन् । अनमोलले नाम चलेका ब्रान्डसँग आफूलाई जोडेका छन् । 

अनमोलले आजसम्म बेनेली बाइक, स्प्राइट, एनसेल, नबिल बैँक, यमाहाको स्कुटी, सामसुङ मोबाइल, मिसियो, एम्पायर एजुकेसन कन्सल्टेन्सी, क्याप्स लगायतका ब्रान्डमा आफूलाई जोडिसकेका छन् । 



अनमोलले पहिलो पटक प्रो स्टाइल नामक कपालमा लगाउने तेलको प्रमोसन गरेका थिए । यो ब्रान्डसँग आफू जोडिँदा १० लाख रूपैयाँ पारिश्रमिक बुझेको अनमोल बताउँछन् । यसपछि भने, अनमोलले नेपालमा र विश्व बजारमै नाम चलेका ब्रान्डसँग आफूलाई जोडिरहेका छन् । 

अनमोलले आफूले प्रमोसन गरेका ब्रान्डको प्रयोग पनि खुबै गर्छन् । अनमोलले भने–‘मैले बेनेली बाइकको प्रमोसन गर्दा मलाई उहाँहरूले उपहार स्वरूप बाइक नै दिनुभएको थियो । म अहिले सामसुङ मोबाइल नै बोक्छु । मेरो बैँक खाता नबिलमै छ । म बाहिर निस्कँदा पनि प्रायः स्प्राइट नै पिउँछु ।’

फिल्मका दृश्यमा कुनै ब्रान्डको प्रयोग गर्नु परेको खण्डमा आफूले नै प्रमोसन गरेका ब्रान्डका सामाग्रीहरुलाई प्रयोग गर्ने अनमोल बताउँछन् । अनमोल ब्रान्डसँग जोडिँदा धेरै कुरामा ध्यान दिने बताउँछन् ।

उनले भने–‘म त उक्त ब्रान्डको क्रेज नेपाल र विदेशमा कति छ भनेर बढी याद गर्छु । यसपछि, बजारमा आएको केही समयमा नै हराउने खालका ब्रान्डसँग म जोडिन्नँ । विशेषगरि, लामो समयसम्म जाने ब्रान्ड नै मेरो रोजाइमा पर्छन् । दुवै जनालाई फाइदा हुने खालका ब्रान्ड नै म रोज्छु ।’

अनमोलले कुनै पनि ब्रान्डलाई छोटो समयका लागि फेसबुक, इन्स्टाग्रामबाट आफूले प्रमोसन नगर्ने बताए । अनमोलले प्रायः ब्रान्डसँग जोडिँदा एक बर्ष र त्यो भन्दा लामो समयसम्मका लागि काम गरेको बताए । स्प्राइटसँग त उनले ५ बर्षदेखि सहकार्य गर्दै आएका छन् ।



अनमोल भन्छन्–‘मलाई अर्को एक ड्रिंकको पनि प्रमोसनका लागि अफर आएको थियो । पैसा पनि निकै राम्रो थियो । तर, मैले लामो समयलाई हेरेँ । यसैले, स्प्राइटमा नै आवद्ध छु ।’

अनमोलले चुरोट, रक्सी, चिकेनका आउटलेटका विज्ञापनका लागि अफर आएपनि आफूले नगरेको बताउँछ । आफ्ना फ्यान युवादेखि धार्मिक सबै खालका भएकाले आफूले ब्रान्ड रोज्दा विशेष ध्यान दिएको उनको भनाई छ । 

अनमोल, नेपालको ब्रान्ड बजार निकै नै राम्रो र व्यावसायिक भएको बताउँछन् । आफूले काम गरेका ब्रान्डहरुबाट आफू पूर्ण रुपमा सन्तुष्ट रहेको उनले सुनाए । लकडाउनको बेलामा आफूले ४ वटा विज्ञापनमा काम गरेको भन्दै आफूलाई उक्त समयमा निकै राहत भएको उनको भनाई छ । 

अनमोल नेपाली फिल्ममा महँगो पारिश्रमिक बुझ्ने नायक हुन् । उनी, फिल्ममा काम गरेको ५० लाखसम्म बुझ्छन् । एउटा ब्रान्डसँग आवद्ध हुँदा आफूले अहिले वार्षिक १५ देखि २० लाखसम्म बुझ्दै आएको उनले बताए । अनमोलले आफूले कुनै पनि विज्ञापन ठूलो र सानो कम्पनीको भनेर पारिश्रमिक फरक–फरक नलिने पनि बताए ।