७ महिनाको ब्रेकपछि काममा फर्किइन् सामन्था

साउथकी सुपरस्टार नायिका सामन्था रुथ प्रभु ७ महिना लामो ब्रेकपछि काममा फर्किएकी छिन् । सामन्थाले आफ्नो कमब्याकको भिडियो समेत सार्वजनिक गरेकी छिन् । जहाँ, उनले अब आफूले हेल्थ पोडकास्टका लागि काम गर्ने उल्लेख गरेकी छिन् । 

उनले भिडियोमा भनेकी छिन्–‘हो, म अब काममा फर्किएको छु । यती लामो समयसम्म म बेरोजगार थिएँ । अब, म मेरो एक जना साथीसँग निकै रमाइलो काम गर्न जाँदैछु । यो एउटा हेल्थको पोडकास्ट हुनेछ । म यो कामलाई लिएर निकै इमोशनल छु र उत्साहित पनि छु । मलाई आशा छ कि, तपाईहरु सबैलाई हाम्रो यो काम निकै मनपर्नेछ । मलाई यो विषयमा काम गर्न निकै मज्जा आयो ।’

सामन्थाले सन् २०२२ मा एक जानकारी दिँदै आफूलाई मायोसाइटिस भएको उल्लेख गरेकी थिइन् । बिरामी भएपछि उनले कामबाट  ब्रेक लिएकी थिइन् । उनको पछिल्लो फिल्म ‘खुशी’ दर्शकमाझ आएको थियो । 

अब सामन्थाले नयाँ फिल्म ‘सिटाडेल’मा नायक वरुण धवनसँग काम गर्दैछिन् ।