फूलपातीमा एनटीआरको ‘देवारा’, नेपाली फिल्मलाई कस्तो असर गर्ला ?

नेपालमा साउथ फिल्मको क्रेज गज्जब छ । यसैले, नेपाली वितरकहरु साउथका फिल्म रिलिज गर्नका लागि तछाडमछाड नै गर्छन् । अझ, नाम चलेका स्टार कलाकारहरूको फिल्मले त नेपालमा राम्रो कमाई गरेका छन् । नेपालीहरूले मन पराएका स्टारमा पर्छन् जुनियर एनटीआर । 

उनै, एनटीआरको मुख्य भूमिका रहेको फिल्म ‘देवारा’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई सन् २०२४ को अक्टुबर १० तारिखबाट रिलिज गर्ने पक्का भएको छ । 

फिल्ममा एनटीआरको साथमा सैफअली खान र जान्हवी कपुरको मुख्य भूमिका छ । अक्टुबर १० मा रिलिज हुन लागेको फिल्मको पहिलो सिरिज हो । 
जुनियर एनटीआरको यो फिल्मले नेपाली बक्स अफिसमा पनि राम्रो कमाई गर्ने आँकलन गर्न सकिन्छ । 

तर, फूलपातीलाई नै लक्षित गरेर नेपालमा केही फिल्म रिलिजको घोषणा भइसकेको छ । जसमा ‘छक्का पन्जा ५, बलिदान, गाउँ नै रमाइलो, बेहुली फ्रम मेघौली’ लगायतका फिल्म छन् । अब, साउथको यो फिल्म पनि रिलिज हुने भएपछि नेपाली फिल्मको बक्स अफिस प्रभावित हुन सक्छ । 

किनकी, बक्स अफिसले दशैं भन्दैमा धेरै फिल्म थेग्न सक्दैन । त्यसमाथि साउथ फिल्मका स्टार नायकहरूको फिल्मले नेपालमा पनि राम्रो कमाई गर्न थालेको अवस्था छ ।