एलिजा र निश्चलको शनिबार बन्छ भनेको फिल्म आइतबार नबन्ने भो

शनिबार बेलुकी अधिकांश मिडियामा नायिका एलिजा गौतम र नायक निश्चल खड्काले एकसाथ नयाँ फिल्ममा काम गर्न लागेको खबर सार्वजनिक भयो । निश्चल र एलिजाले समुन्द्र भट्टको निर्देशनमा बन्न लागेको नयाँ फिल्ममा काम गर्ने पक्का भएको खबर प्रकाशित भएको थियो । 

तर, एक रातमै यो फिल्मको निर्माणमा नयाँ ट्विस्ट आएको छ । फिल्मकी निर्देशक समुन्द्र भट्टले फिल्म बन्ने विषयमा कुरा नै नभएको तर्क मिडियासँग गरेकी छिन् । उसो त, उनले अहिले अधिकांश मिडियाको फोन नै उठाएकी छैनन् ।

मेरो फिल्मले पनि बारम्बार प्रयास गर्दा पनि फोन उठ्न सकेको छैन । तर उनले एक अनलाइनसँग कुरा गर्दै एलिजा र निश्चलसँग ठमेलको एक रेष्टुरेण्टमा कफी मिटिङका लागि भेट भएको र फोटो खिचाएको तर्क गरेकी छिन् । सोही तस्विरलाई लिएर अहिले फिल्मको प्रचार गरिएको समुन्द्रले बताएकी छिन् । 

यता, फिल्ममा अनुबन्धित भएको भनिएका नायक खड्काले पनि आफूले फिल्म साइन नगरेको बताएका छन् । उनले मेरो फिल्मसँग भने–‘हामीले फिल्मको विषयमा कुरा गरेको हो । तर, फिल्मका लागि मैले साइन गरेको छैन । मलाई समुन्द्रजीसँग फिल्ममा काम गर्न पहिलेदेखि नै मन भने लागेको छ ।’

यस्तै, नायिका एलिजा गौतमले यो विषयमा आफूले कुरा नै गर्न नचाहेको तर्क गरिन् । उनले भनिन्–‘फिल्मका लागि कुरा भएको हो । हामीले फिल्मका लागि नै भेट गरेका हौं । अब, रातारात के भयो मलाई थाहा छैन ।’

एक दिन अगाडि बन्छ भनेर घोषणा गरिएको फिल्म भोलिपल्टै बन्दैन भन्नु हास्यास्पद कुरा हो । नेपाली फिल्म क्षेत्रका मेकरहरुले फिल्म निर्माणलाई यस्तै हावादारी र सामान्य कुरा सोच्दा दर्शकले पनि विश्वास गर्न छाडेका छन् । 

पहिलो फिल्म ‘अनुराग’मा काम गरेपछि दोस्रो फिल्ममा काम गर्न नसकेकी एलिजाका लागि फेरि तनाव उत्पन्न भएको छ । उनले, साइन गरेर ‘घिन्ताङ’ फिल्म छाडेकी थिइन् भने ‘घुइँचो’को घोषणा भएर पनि बन्न सकेन ।