साम्राज्ञी भन्छिन्–‘काम सकिएपछि म आफ्नो बाटो लाग्छु, धिरजसँग सम्बन्ध विग्रिएको छैन’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धिरज मगरले फिल्म ‘इन्टु मिन्टु लण्डनमा’मा एकसाथ काम गरे । यो फिल्मबाट यो जोडीको चर्चा पनि निकै चुलियो । यसपछि, यी दुईले एकसाथ काम गर्न सकेनन् । 

फिल्म रिलिज भएपछि धिरज र साम्राज्ञीको सम्बन्धमा दरार आएको चर्चा समेत भयो । उनीहरुबिच बोलचाल नै बन्द भएको खबर पनि सार्वजनिक भएको थियो । 

तर, एकसाथ फिल्म ‘रुमानी रङ्ग’मा काम गर्ने भएपछि धिरज र साम्राज्ञी नजिक भएका छन् । साथै, उनीहरुले आफूहरूको सम्बन्धमा दरार नआएको पनि तर्क गरेका छन् । 

साम्राज्ञीले भनिन्–‘त्यस्तो केही पनि भएको छैन । म फिल्म गरेपछि आफ्नो बाटो लाग्छु भन्ने सबैलाई थाहा नै छ । धिरज र मेरो लागि भनेर कहिले पनि स्क्रिप्ट आउँदै आएन । अहिले आयो, हामीले स्विकार गर्‍यौं ।’

यता, नायक धिरज मगरले पनि साम्राज्ञीसँग कहिले पनि सम्बन्ध नबिग्रिएको तर्क गरे । उनले, आफूहरूलाई भनेर कहिले पनि स्क्रिप्ट नआएको बताए । सम्बन्ध सुमधुर भएकै कारण यसपटक काम गर्न आफूहरू तयार भएको उनको तर्क थियो । 

धिरज र साम्राज्ञीले आजसम्म फिल्ममा आफ्नो सहकर्मी नायिका वा नायकसँग दोहोर्याएर काम गरेका थिएनन् । तर, फिल्म ‘रुमानी रङ्ग’मा भने उनीहरुले फेरि सहकार्य गर्दैछन् ।