‘आनी छोइङ डोल्मा’ निफको ओपनिङ फिल्म

गायिका आनी छोइङ डोल्माको जीवनबाट प्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा : नोथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म रहेको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाइको निर्देशनमा तयार भएको वृत्तचित्र महोत्सवको उद्घाटनसँगै प्रदर्शन गरिने जानकारी दिएका छन् । 

यो वृत्तचित्रमा आनीको सांगीतिक यात्रा, भिक्षु जीवन र समाजसेवाको पाटोलाई उतारिएको छ । निर्देशक लिनले यो वृत्तचित्रले आनीको स्वतन्त्रताको प्राप्तिको खोजीको पाटोलाई उतारिएको बताएकी छिन् । 

आनीलाई सात बर्ष पछ्याएर लिनले यो वृत्तचित्र तयार पारेकी थिइन् । सन् २०१० मा गरिबीमा हुर्किएकी बालिकाको शिक्षाको लागि आनीले स्थापना गरेको आर्य तारा स्कुलको भ्रमण गरेपछि आफूलाई उनको बारेमा वृत्तचित्र बनाउने सोच आएको लिनको भनाई छ । यो वृत्तचित्रले गत बर्ष वार्सा इन्टरनेशनल फिल्म फेस्टिभलमा एसियन प्यासिफिक अडियन्स अवार्ड र नेट प्याक अवार्ड जितेको थियो । 

चैत्रको १ गतेदेखि ५ गतेसम्म निफ महोत्सव चल्नेछ । जहाँ, ४० देशका ८८ वटा फिल्म प्रदर्शन गर्ने तयारी आयोजकको छ ।