कस्तो हो बेनिशाले काम गरिरहेको बलिउड फिल्म ?

नायिका बेनिशा हमाल विगत केही दिनदेखि भारतमा छिन् । उनी, हिन्दी भाषामा बनिरहेको फिल्म ‘दुर्गम’मा काम गरिरहेकी छिन् । यो फिल्मलाई भुवन ताम्ताले निर्देशन गरिरहेका छन् । 

बेनिशाका अनुसार, यो फिल्मको छायांकन गत बर्षको नोभेम्बरमा नै सुरु हुनुपर्ने हो । तर, हिउँ परेको दृश्य चाहिने भएकाले गर्दा सुटिङको सेड्यूल केही ढिला सुरु भएको हो । गतबर्षको मार्च महिनामा बेनिशा यो फिल्मको अडिसनका लागि भारत पुगेकी थिइन् ।

अडिसनमा छानिएपछि फिल्मको मुख्य नायिकामा बेनिशा अनुबन्धित भएकी हुन् । फिल्ममा बेनिशाको जोडीको रुपमा गोदान कुमारले काम गरिरहेका छन् । गोदानले ‘धडक, मर्जावा’ लगायतका फिल्ममा काम गरिसकेका छन् । 

यो फिल्मले नेपाल र भारतको बोर्डरमा बस्ने युवती र भारतमा बस्ने युवाको प्रेम कथालाई प्रस्तुत गर्छ । गोदान र बेनिशा फिल्ममा श्रीमान्–श्रीमतिको भूमिकामा देखिदैछन् । बेनिशाका अनुसार, आइएस अफिसर्स बन्न चाहने युवाको भूमिकामा गोदान देखिदैछन् । 

फिल्ममा सम्पूर्ण बलिउडकै टिमले काम गरिरहेको बेनिशाको भनाई छ । बेनिशाले फिल्म ‘सिटामोल’को छायांकन पनि सकाएकी छिन् । उनले अभिनय गरेको फिल्म ‘उपहार’ फागुनको २५ गतेबाट रिलिजमा आउँदैछ ।