बक्स अफिसमा धमाका मच्चाउँदै यमीको ‘आर्टिकल ३७०’

बलिउडको बक्स अफिसमा नायिका यमी गौतमको नयाँ फिल्म ‘आर्टिकल ३७०’ले धमाका मच्चाइरहेको छ । समीक्षकबाट समेत उत्कृष्ट प्रतिक्रिया पाएको यो फिल्मले दर्शकको पनि साथ पाइरहेको छ । 

यो फिल्मले रिलिजको पहिलो दिन शुक्रबार ६.१२ करोडको व्यापार गरेको थियो । शनिबार फिल्मको व्यापार ९.०८ करोड पुग्यो । आइतबार बिदाको दिन फिल्मले १०.२५ करोडको कमाई गर्यो । तीन दिनमा फिल्मले २५.४५ करोडको व्यापार गरेको छ । 

विकेन्ड कलेक्शन नै सुखद भएपछि फिल्मले सुपरहिट वा ब्लकबस्टर हुने विश्लेषण बलिउड पण्डितहरूको छ । फिल्मको कथावस्तुलाई दर्शकले निकै रुचाएका छन् । यो फिल्मलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंसा गरेका थिए । 

फिल्ममा नायिका गौतमको कामको चौतर्फी प्रशंसा भइरहेको छ । यमीले करिअरमै  उत्कृष्ट काम गरेको भन्दै समीक्षकहरूले प्रतिक्रिया दिइरहेका छन् ।