‘अगस्त्य’का कलाकार भन्छन्–‘ट्रेलर भन्दा फिल्म १० गुणा राम्रो छ’

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म हो, ‘अगस्त्य’ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि दर्शकमा उच्च आशा पलाएको छ । फिल्मको  उच्च हाइप हुनु कहिलेकाही घातक पनि हुनसक्छ । 

तर, फिल्मका मुख्य तीन कलाकारहरू सौगात मल्ल, नाजिर हुसेन र मलिका महत भने चर्चा अनुसार फिल्म पनि बनेको दाबी गर्छन् । ट्रेलर उत्कृष्ट हुने तर फिल्म कमजोर हुने शैलीका कारण दर्शक निराश पनि छन् । तर, ‘अगस्त्य’मा यो कुरा लागू नहुने नायक सौगात मल्ल बताउँछन् । 

उनले भने–‘फिल्मको ट्रेलरमा देखाइएको भन्दा अझै धेरै कुरा फिल्ममा छ । धेरै कुराहरू अझै देखाउन बाँकी रहेकाले पनि दर्शकलाई बाँध्न सकिन्छ भन्ने मलाई लागेको छ ।’

यता, फिल्मकी नायिका मलिका महत र अर्का नायक नाजिर हुसेनले पनि यसको स्क्रिप्ट बलियो भएको बताए । उनीहरुले, फिल्म भित्रका धेरै कुरा ट्रेलरमा नदेखाइएकाले पनि हलमा दर्शकले नयाँ कुराहरू हेर्न पाउने तर्क गरे । 

फिल्मका तीन मुख्य कलाकारहरूले ‘ट्रेलर भन्दा फिल्म १० गुणा राम्रो’ रहेको दाबी समेत गरेका छन् । 

अबको बीस बर्षपछि के तपाई यो फिल्म गर्वका साथ आफ्नो हो भन्न सक्नुहुन्छ भन्ने प्रश्नमा तीनै कलाकारले भने–‘हामी त अहिले नै सक्छौं । किनकी, फिल्म नै दर्शकको रोजाई अनुसारको बनेको छ । २० बर्षपछि नसक्ने भन्ने त कुरै छैन ।’

यो फिल्मको केही हलमा बूकिङ समेत खुलेको छ । तर, मुख्य शहरहरूमा बूकिङ खुल्न बाँकी छ । दर्शकले पनि यो फिल्मलाई प्रतीक्षा गरेर बसेका छन् । अर्कोतिर, यो फिल्मको व्यापारले नेपाली फिल्मको आगामी दिनको बाटोलाई समेत तय गर्ने देखिएको छ । यसकारण, ‘अगस्त्य’को व्यापार निर्मातालाई मात्र नभएर सिंगो फिल्म क्षेत्रकै लागि महत्वपूर्ण देखिएको छ ।