हतारिएका फिल्मीकर्मी

गत बिहिबार बेलुकी ललितपुरको लाबिम मलका ३ वटै पर्दा बुक गरेर फिल्म ‘अगस्त्यः च्याप्टर १’को प्रिमियर शो आयोजना भयो । 

यो फिल्मको प्रिमियरको निमन्त्रणा अतिथि तथा पत्रकारहरूलाई पुग्दासम्म निर्देशक सौरभ चौधरीले फिल्मको काम सकेका थिएनन् । सम्पादक निमेष श्रेष्ठले रातारात काम गरे । 

फिल्म हेर्न हलमा पुगेका अधिकांश फिल्मीकर्मी र पत्रकारहरूलाई सम्पादन पाटोले बिझायो । फिल्मको काम नसकिएको प्रष्टै थाहा हुन्थ्यो । फिल्मको डबिङदेखि मिक्सिङ र कलरमा समस्या थियो ।

बिहिबार राती फिल्मको प्रिमियर भएकाले निर्मातादेखि निर्देशकले समस्या पनि सोही दिन थाहा पाए । शुक्रबार बिहानै फिल्म रिलिज हुने भएकाले समस्या समाधान गर्ने समय समेत मेकरसँग थिएन । शुक्रबार र शनिबार प्रिमियरमै देखाइएको फाइल हलमा गयो । मेकरले आइतबारदेखि भने कलर र डबिङमा केही सुधार गरेर फिल्म देखाइरहेका छन् । 

भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘रङ्गेली’को बुधबार बेलुकी प्रिमियर गरियो । फिल्मको प्रिमियर बेलुकी साढे ४ बजे आयोजना गरिएको थियो । तर, रातभर नसुती निर्देशक अर्जुन सुवेदी र सम्पादक निमेष श्रेष्ठले काम गरे । बेलुकी ६ बजे फिल्मको प्रदर्शन सुरु भयो ।

तर, साउन्ड नै आएन । बीग मुभिजको दुई पर्दामध्ये एकमा भिडियो मात्र देखियो, अर्कोमा साउन्ड मात्र सुनियो । हतार हतार काम गरेर प्रिमियरका लागि फाइल तयार पारिएकाले पनि समस्या भएको थियो । पछि, अर्को फाइल ल्याएर बेलुकी ८ बजे मात्र फिल्म सुरु गरियो । ३ घन्टा लामो फिल्म सकिँदा ११ बजे, मिडियाकर्मी १२ बजे मात्र हलबाट फर्किए । 

यी दुबै फिल्मका सम्पादक निमेष श्रेष्ठ हुन् । एक साताको अन्तरमा एउटै सम्पादकले दुई वटा फिल्म तयार पार्नुपर्दा यस्तो समस्या आएको देखिन्छ । अर्कोतिर, फिल्मीकर्मीहरु फिल्म बनाउन भन्दा रिलिज गर्न हतारिएको देखिन्छ । 

नेपाली फिल्मको प्रिमियरमा हिजोआज यस्तै हतारो देखिन थालेको छ । जसले गर्दा, प्रिमियरमा पुग्ने फिल्मीकर्मी, मिडियाकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरू निराश बन्ने गरेका छन् । प्रिमियरबाट सकारात्मक सन्देश बजारमा गएन भने त्यसले ठूलो असर पार्ने गर्दछ । 

फिल्मको नाम दर्ता गर्न पाएको छैन फिल्मीकर्मीहरु रिलिज मिति तोक्छन् । अनि, नेपाली फिल्मको पोष्ट प्रोडक्शन अन्तिम समयमा रातारात गर्ने रोग पुरानै हो । अझ, एउटै पोष्टमा धेरै फिल्मको काम हुँदा भ्याईनभ्याई काम गर्नुपर्ने वाध्यता छ । जसको असर, फिल्मको रिलिजमा पर्न थालेको छ । यो विषयमा फिल्मीकर्मीहरु गम्भीर हुन आवश्यक छ । 

फिल्मलाई सकेर, कनेक्शन गर्ने समय पनि नराखेर हलमा रिलिज गर्न हतारिएका छन् फिल्मीकर्मी । यसले, हतारको काम लतार भने जस्तै भएको छ । फिल्म रिलिज गर्न हतारिनु भन्दा पनि उत्कृष्ट प्रोडक्ट बनाउन तल्लीन हुनुपर्ने देखिन्छ ।