आफैले विदेशी फिल्म भित्राएपछि नेपाली फिल्ममाथि क्यूएफएक्सको चरम विभेद

भोलि शुक्रबारबाट रिलिज हुन लागेका ३ नेपाली फिल्मको शो बाँडफाँडमा देशकै ठूलो चेन भनिने क्यूएफएक्सले चरम विभेद गरेको छ । 

भोलि शुक्रबारदेखि बलिउड फिल्म ‘सैतान’ र हलिउड फिल्म ‘कुङ फू पान्डा’ रिलिज हुँदैछन् । यी दुबै फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले नेपाल भित्र्याएको हो । यसैले, यी दुबै फिल्मलाई क्यूएफएक्स चेनले उच्च शो दिएको छ । ‘सैतान’लाई  उपत्यकामा मात्र २१ शो दिइएको छ भने ‘कुङ फू पान्डा’लाई २० शो दिइएको छ । 

तर, तीन नेपाली फिल्मलाई दिइएको शो भने दयनीय नै छ । क्यूएफएक्सले उपत्यकाका हलमा ‘उपहार’लाई ४ शो दिएको छ । यस्तै, ‘काँडेतार’लाई पनि ४ शो नै दिएको छ । फिल्म ‘रङ्गेली’लाई ५ शो दिइएको छ । 

उपत्यकामा मात्र १३ पर्दा भएको क्यूएफएक्सले ३ नेपाली फिल्मलाई दिएको शो एउटा हिन्दी फिल्मलाई दिएको भन्दा निकै कम छ । 

यता, पहिलो सातामा दर्शकको राम्रो साथ पाइरहेको ‘अगस्त्य’को दोस्रो साताका लागि अहिलेसम्म शो नै खुलाइएको छैन । 

यसरी, वितरक र प्रदर्शक आफै हुँदा क्यूएफएक्सले नेपाली फिल्ममाथि चरम विभेद गरेको छ । उसो त प्रदर्शकहरु आफूहरूलाई नेपाली फिल्म चलाउँदा नै फाइदा हुने रटान बेलाबखत लगाइरहन्छन् । तर, व्यवहारमा भने ठिक उल्टो छ । उनीहरुको काम गर्ने तरिका र बोलीमा तारतम्य कही कतै मिलेको पाइँदैन । 

कानुनले के भन्छ ?

चलचित्र(निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ का अनुसार ‘प्रदर्शकले एकै दिनमा स्वदेशी तथा विदेशी फिल्म प्रदर्शन गर्न नपाउने भन्ने उल्लेख छ ।

साथै, विदेशी भूमिबाट भू–उपग्रह वा यस्तै अन्य प्रविधिको माध्यमद्वारा वितरण गरिएका डिजिटल प्रविधिका फिल्महरू प्रदर्शन गर्न नपाइने पनि ऐनमा उल्लेख छ । यस्तै, ऐनमा ‘प्रदर्शकले स्वदेशी तथा विदेशी फिल्म प्रदर्शन गर्दा चलचित्र जाँच समितिबाट जाँच पास भएको मितिलाई आधार मानि सबभन्दा पहिले जाँचपास भएको तत् तत् चलचित्रलाई प्रदर्शनको मौका दिनुपर्ने भन्ने पनि ऐनमा उल्लेख छ । 

तर, चलचित्र प्रदर्शकहरुले एकै दिनमा नेपाली फिल्म र विदेशी फिल्म रिलिज गर्न नपाइने नियमले आफूहरूलाई समस्या पर्ने भन्दै गुनासो गरेपछि विकास बोर्डसँग सहमति भएको थियो । सोही सहमति अनुसार, एकै दिनमा नेपाली र विदेशी फिल्म रिलिज हुँदै आएका छन् । 

तर, यदि नेपाली निर्माताले कानुनी उपचार खोज्ने हो भने प्रदर्शकहरु समस्यामा पर्न सक्छन् ।