प्रदिप र बेनिशाको ‘एक्लो’मा जोडिए सुनिलदेखि कवितासम्म

फिल्म ‘एक्लो’मा कलाकारको लाइनअप पुरा भएको निर्माणपक्षले बताएको छ । प्रदीप शाहीको निर्देशन रहने साई फाई जोम्बी थ्रिलर फिल्ममा नायक प्रदीप खड्का, नायिका बेनिशा हमालदेखि कलाकारहरू सुनिल थापा, विजय लामा, राज उप्रेती तथा कविता नेपालीलाई फाइनल गरिएको निर्माणपक्षले बताएको छ । यो फिल्ममा दिया पुनको विशेष भूमिका रहनेछ । 

विनोद सुवेदी खत्री कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप शाहीको नै कथा छ । शाइ प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा ह्रयाम्साएर एकाउन्टेनको पनि सहकार्य रहनेछ । 

दुई प्रदिपबिचको सहकार्यले नेपाली फिल्मका दर्शकले नयाँ स्वादको कथा हेर्न पाउने अपेक्षा गरिएको छ । नायक प्रदीप खड्काले लगालग फिल्म साइन गरिरहेका छन् । उनले, आफूलाई हरेक प्रकारको फिल्ममा ढाल्न खोजेको देखिन्छ ।

यस्तै, गतबर्ष ‘अन्तिम संस्कार’ नामक फिल्म निर्देशन गरेका निर्देशक शाहीले पनि फरक खालका पात्र प्रधान फिल्ममा आफूलाई ध्यान दिएको देखिएको छ । फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ, पक्का छैन । तर, निर्माणपक्षले कलाकारको पनि लाइनअप पुरा गरेर प्रि प्रोडक्शनको तयारी धमाधम गरिरहेको छ ।