भुवन केसीलाई ‘धमाका’ आवश्यक

चलचित्र विकास बोर्डको दुई बर्षे कार्यकाल सकिन केही महिना मात्र बाँकी रहँदा नायक भुवन केसी गतिशील देखिएका छन् । चलचित्र विकास बोर्डमा करिब डेढ बर्ष बिताइसकेका भुवनलाई अपेक्षित काम गर्न नसकेको आरोप लाग्दै आएको छ । यसैले, अबको केही महिना फिल्म क्षेत्रका लागि केही बोल्ड निर्णय गरेर बिदा हुने भुवनको योजना छ । 

उनले, चलचित्र संघको साधारण सभामा पुगेर सिंगल हलहरुका लागि १० लाख रुपैयाँको राहत योजना ल्याउन लागेको जानकारी गराए । यदि, भुवनले भने जस्तै विकास बोर्डले यो राहतको प्याकेज घोषणा गर्न सक्यो भने सिंगल हलहरुलाई केही राहत हुने निश्चित छ । 

चलचित्र विकास बोर्डले अब फिल्म स्टुडियो निर्माणको कामलाई पनि अगाडि बढाउने बताएको छ । २ हेक्टर जंगल पाएकाले अब विकास बोर्डले फिल्म स्टुडियोको कामलाई तीव्रता दिने तयारी गरेको छ । 

नेपाली फिल्म क्षेत्रमा अन्य केही कामहरू गर्न बाँकी छ । भुवन केसीले दूरगामी प्रभाव पार्ने कामको सुरुवात मात्र गर्न सके भने पनि उनका लागि फाइदा नै हुनेछ । 

नेपाली फिल्म क्षेत्रलाई बुझेका व्यक्तिहरू विकास बोर्डमा नगएको भन्दै बारम्बार आलोचना हुने गरेको थियो । यसपटक, नेपाली फिल्म क्षेत्रलाई नजिकबाट बुझेका नायक भुवन केसी विकास बोर्डको अध्यक्ष पदमा पुगेका छन् । यसैले, उनको कार्यकाल सबैका लागि चासोमा थियो । 

नेपाल सरकारले चलचित्र ऐन पास गर्न सकेको खण्डमा फिल्म क्षेत्रलाई निकै फाइदा हुने थियो । चलचित्र विकास बोर्डका अध्यक्ष केसी आफूले ऐन पास गर्नका लागि दौडधूप गरिरहेको बताउँछन् ।

यदि, उनको कार्यकालमा नै यो ऐनले मूर्त रुप लियो भने फिल्म क्षेत्रले उनलाई सधैं नै सम्झने थियो । अब, हेरौं बाँकी रहेको केही महिनाको कार्यकालमा भुवन केसीले के–कस्ता काम गर्ने हुन् ?