‘ज्वाइँ साब’मा ज्वाइँ बन्दै जितु नेपाल

रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’को केन्द्रीय भूमिकामा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् ।

राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्मका लागि जितुसँग निर्माणपक्षले कागजी संझौता गरेको हो । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्न लागिएकाले पनि जितु नेपाललाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरिएको निर्माता राजकुमार पण्डितले जानकारी दिए । 

हाँस्य कलाकारको रुपमा चर्चित रहेका जितुको फिल्ममा पनि माग बढेको छ । दर्शकले उनको अभिनयलाई रुचाएपछि निर्माताहरू पनि उनलाई अनुबन्धित गर्न लालायित देखिएका छन् । यो फिल्मलाई लिएर आफू पनि निकै उत्साहित रहेको जितुको भनाई छ । 

यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गर्दैछन् । फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । यो फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ । 

यसैबिच, निर्माणपक्षले फिल्मको प्रदर्शन मिति समेत तय गरेको छ । यो फिल्मलाई आउँदो बर्षको तिहारमा रिलिज गर्ने पक्का गरिएको निर्देशक निरौलाले जानकारी दिए । फिल्मको छायांकन वैशाख १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ ।