फिल्म रिलिज भएन, तर बर्षभरी चकलेटी हिरोहरु चर्चामा

यो बर्ष नेपाली फिल्म क्षेत्र नायक दयाहाङ राइको वरिपरी नै घुम्यो । वि.सं २०८० सालमा दयाका ८ वटा फिल्म रिलिज भए । 

तर, यो बर्ष नेपाली फिल्म क्षेत्रमा चकलेटी नायकको रुपमा चिनिएका अधिकांश नायकहरूको फिल्म नै रिलिज भएन । नायकहरू अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का लगायतको फिल्म नै रिलिज भएन । 

गतबर्ष अनमोल, प्रदीप र पुष्पको फिल्म रिलिज भएपनि यो बर्षको क्यालेन्डरमा उनीहरू सहभागी नै भएनन् । तर, फिल्म रिलिज नभएपनि उनीहरुको चर्चा भने बर्षभरी नै भयो । 

यो बर्ष नायक अनमोल केसी ‘रावायण’का कारण चर्चामा रहे । यो फिल्म साइन गरेका उनले अन्तिममा छाडे । फिल्म छाडेपछि उनी विरुद्ध निर्देशक सुदर्शन थापाले उजुरी दर्ता गरे । सुदर्शनको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्यो । अनमोल २ दिन प्रहरीको हिरासतमा बसे । यही प्रकरणका कारण उनको यो बर्ष सर्वाधिक चर्चा भयो ।

यो बर्ष उनले नयाँ फिल्म ‘फर्की फर्की’को छायांकन सुरु गरे । यो फिल्म आउँदो बर्षको जेठ १० गते रिलिज हुँदैछ । यस्तै, अनमोल केसीको चर्चा फिल्म ‘फर्की फर्की’मा काम गरेपछि नायिका जसिता गुरुङसँगको प्रेम सम्बन्धका कारण पनि भइरहेको छ । 

नायक प्रदीप खड्काको पनि यो बर्ष कुनै फिल्म रिलिज भएन । तर, यो बर्ष उनले एकपछि अर्को फिल्म साइन गरे । यो बर्ष उनले फिल्म ‘पुजार सार्की’को छायांकन सकाएका छन् । यो फिल्म आउँदो बर्ष रिलिज हुँदैछ ।

यस्तै, उनले यही बर्ष ‘पिताम्बर, एक्टर, ऐरी, एक्लो’ लगायतका फिल्म साइन गरेका छन् । यसरी हेर्दा, यो बर्ष प्रदीपको करिअरमा नयाँ मोड आएको छ । यस्तै, उनी निर्देशक तथा निर्माता सन्तोष सेनसँगको सम्बन्धका कारण पनि चर्चामा छन् । सन्तोष र उनको सम्बन्ध विग्रीएको खबरले चर्चा पाइरहेको छ । 

नायक पल शाहको पनि यो बर्ष कुनै फिल्म रिलिज भएन । तर, यो बर्ष उनले फिल्म ‘मायाबी र पुजार सार्की’को छायांकन सकाएका छन् । यस्तै, पलले यो बर्ष ‘रावायण, मायाका रंगहरु, अवतार’ लगायतका फिल्म साइन गरेका छन् । पलको यो बर्ष म्युजिक भिडियो, महोत्सवमा उपस्थिति आदि कारणले पनि चर्चा धेरै भयो । बर्षभरी नै उनी चर्चामा रहे पनि दर्शकले भने उनको फिल्म प्रतीक्षा गरिरहेका छन् । 

गतबर्ष ३ वटा फिल्म रिलिज भएर असफल भएपछि नायक पुष्प खड्काको यो बर्ष कुनै पनि फिल्म रिलिज भएन । पुष्पले यो बर्षको अन्तिममा फिल्म ‘सिड्नी ब्लुज’ साइन गरेका छन् । बर्षभरी उनी म्युजिक भिडियोमा नै व्यस्त बने । 

यो बर्ष नायक सलिनमान बनियाँको पनि फिल्म रिलिज भएन । सलिनमानले यो बर्ष सलोन बस्नेतको साथमा फिल्म ‘‘यूनिभर्सिटी अफ गुन्डाज’ ’ साइन गरे । यो फिल्मको छायांकन अर्को बर्ष सुरु हुँदैछ । 

यो बर्ष नेपाली फिल्मको रिलिजको संख्या पनि कम छ । गतबर्ष ५० हारहारीमा फिल्म रिलिज भएपनि यो बर्ष त्यो संख्या अझै घटेको छ । तर, आउँदो बर्ष चकलेटी हिरोहरूको फिल्म धमाधम रिलिज हुँदैछन् । जसले गर्दा, उनीहरुको बक्स अफिस पावर पनि देखिनेछ ।