‘रेड सुटकेस’को ट्रेलरले बढाउनेछ दर्शकको उत्साह

चैत्रको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा छनोट भएर पुरस्कार समेत जितिसकेको यो फिल्मलाई अब नेपालमा रिलिज गर्न लागिएको हो । 

आइसफल प्रोडक्शनको प्रस्तुतिमा तयार भएको यो फिल्मको ट्रेलर अन्य फिल्मको भन्दा भिन्न छ । ट्रेलरको निर्माणले नै दर्शकलाई फिल्मप्रति उत्साह जाग्ने पक्का छ । 

यो फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा, श्रृष्टी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । रेडियोमा एक श्रोताले फोन गरेर सुनाएको अनौठो घटनालाई जोडेर नै फिल्मको ट्रेलर तयार पारिएको छ । 

फिल्ममा सुशन प्रजापतिको छायांकन, समन अल्भिटिगलाको सम्पादन, उत्सव वुढाथोकीको संगीत छ । 

फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापाको लगानी छ ।