सौगात भन्छन्–‘नेपालीहरु विदेशिएको देख्दा झसङ्ग हुन्छु’

नायक सौगात मल्लले नेपालीहरू दैनिक रुपमा हजारौंको संख्यामा विदेश उडिरहेको देख्दा दुःख लाग्ने बताएका छन् ।

आज आयोजित फिल्म ‘रेड सुटकेस’को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै सौगातले भने–‘मैले देखिरहेको कुरा हो । मेरा कति साथीहरू पनि अहिले विदेशमा छन् । पहिले स्कुल पढ्दा कोही पुलिस बन्ने, कोही आर्मी बन्ने भन्थ्यौँ । ती अधिकांश साथीहरू अहिले विदेशमा छन् । यो दुःख लाग्दो कुरा हो । म यो कुरा सम्झिएर बेलाबखत झसङ्ग हुन्छु । अबको २०–२५ बर्षपछि अझै के होला भन्ने लाग्छ । मलाई मनमा सधैं नै यो कुराले एक खालको दुःख र अप्ठ्यारो हुने गर्दछ ।’

सौगातले यो कुरा कसरी रोकिन्छ भन्ने आफूलाई लागेपनि उपाय भने नभएको बताए ।

उनले अगाडि भने–‘रोक्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर, सरकारबाट केही होला जस्तो लाग्दैन । सरकारले त वास्ता नगरेको जस्तो देखिन्छ । के फरक पर्ला र सरकारलाई खै ? मसँग पनि केही आइडिया छैन । कोही होस् भन्ने चाहन्छु ।’

नेपालमा पछिल्लो केही बर्षयता सुटकेसको कथामा फिल्म बनिरहेका छन् । यो विषयमा सौगातले भने–‘अहिलेको समय नै यस्तै छ । फिल्म भनेको जे घटना घटिरहेको छ, त्यसैमा त बनाउने हो नी । यो विषयले सबैलाई छोएको छ । सायद, यसैले यी कथाहरू नेपाली फिल्ममा भनिएको होला ।’