‘महाजात्रा’ले कमायो १४ करोड, फिल्म हेरेर बाबुरामले के भने ?

दोस्रो सातामा रिलिज भइरहेको फिल्म ‘महाजात्रा’ले उत्साहजनक व्यापार गरिरहेको छ । यो फिल्मलाई पूर्व प्रधानमन्त्रीदेखि बहालवाला गृहमन्त्रीले समेत हेरिसकेका छन् । यसैबिच, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मंगलबार बेलुकी यो फिल्म हेरेका छन् । उनले, फिल्म हेर्दै सन्देशमुलक र मनोरञ्जनले भरिएको भन्दै प्रशंसा गरे ।

उनले भने–‘देशमा सुशासन, सम्बृद्धिको कुरा हामी गर्छौ, तर भ्रष्टाचार र बेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । नेताहरूले फिल्म हेरेर मम भन्न सक्नुपर्छ । राजनीतिज्ञले सत्यलाई स्विकार गर्नुपर्छ । तर, परिबन्धमा नपरी सहजै कसैले गल्ती स्विकार गर्दैनन् । म फिल्म हेरिरहँदा केही स्थानमा भावुक भएँ, केही स्थानमा आँसु रोक्न सकिन । फिल्म हेरेर आनन्द आयो ।’

डाक्टर भट्टराईले फिल्मले कलाकर्मीको गरिमा बढाउने भन्दै लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतीकरण, बिषय चयन लगायतका सम्पूर्ण पक्ष मन परेको बताए । उनले भने–‘यो फिल्म आम दर्शकदेखि राजनीतिज्ञसम्मलाई सुहाउँदो विषयमा बनेको छ । म यसलाई १० मा ८ नम्बर दिन चाहन्छु । ढुक्क भएर सपरिवार फिल्म हेर्न आउनुहोस् ।’

भट्टराइको प्रतिक्रिया लिन हलमै पुगेका निर्देशक प्रदीप भट्टराईले आफूले फिल्म मार्फत दिएको सन्देशलाई राजनीतिज्ञहरूले पनि बुझेको भन्दै खुशी व्यक्त गरे ।

फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले हलमा नयाँ–नयाँ दर्शक भेटिएको भन्दै उत्साह व्यक्त गरे । हरेक वर्गका दर्शकहरु फिल्म हेर्न आएको भन्दै उनले दर्शकले हलबाट निस्कँदा आफूहरूलाई धन्यवाद दिएको सुनाए । फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले नेपालसँगै विदेशमा पनि फिल्मले उत्साहजनक व्यापार गरिरहेको सुनाए । 

उनका अनुसार, फिल्मले १० दिनमा विश्वव्यापी १४ करोड ग्रस कलेक्शन गरिसकेको छ । जसमा, नेपालमा ८ करोड ८ लाख र ओभरसिजमा फिल्मले ५ करोडको व्यापार गरेको खत्रीको दाबी छ । 

चैत्र ९ गतेबाट रिलिज भइरहेको यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, राजाराम पौडेल, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।