‘बोक्सीको घर’को ‘बुझिन मैले’ गीत रिलिज

वैशाखको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बोक्सीको घर’मा समावेश ‘बुझिन मैले’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा प्रकाश सपुतको शब्द तथा संगीत, समीक्षा अधिकारीको स्वर छ ।

सार्वजनिक गीत फिल्मको कथा हेरेर तयार पारिएको निर्माणपक्षले बताएको छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियो र अडियोले चर्चा पाइरहेको छ ।

यो गीतको भिडियोमा मुख्य नायिका केकी अधिकारीको साथमा कलाकारहरू सुलक्षण भारती र रमा थपलियालाई फिचरिङ गरिएको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले समाजमा प्रचलित बोक्सी कुप्रथालाई चित्रण गरेको छ ।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको कथामा यो फिल्म बनेको छ । केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्ममा बद्री अधिकारीको लगानी छ ।

फिल्मका कार्यकारी निर्माता राज घिमिरे हुन् । फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला लगायतका कलाकारको पनि अभिनय छ । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन छ ।