साम्राज्ञीको प्रतिक्षा

नेपाली फिल्म क्षेत्रमा नायिकाहरू पनि शक्तिशाली बनिरहेका छन् । नायिका केन्द्रित फिल्म मात्र बनाएर पनि निर्माताहरूले राम्रै कमाई गरेका छन् । नाम चलेका नायिकाहरू भूमिकामा विविधता खोजिरहेका छन् । 

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने हिट फिल्म खोजिरहेकी छिन् । लगातार बक्स अफिसमा असफल भएपछि उनलाई मेकरले पहिले जस्तो पत्याएका छैनन् । यसैले, उनी हिट फिल्मको प्रतीक्षामा छिन् । 

आउँदो बर्षको जेठ २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘लण्डन टू पेरिस’ उनका लागि विशेष छ । किनकी, उनले काम गर्ने भनिएको अर्को फिल्म ‘रुमानी रंगहरु’को छायांकन नै सुरु भएको छैन । यसैले, बक्स अफिसमा ‘लण्डन टू पेरिस’ले दर्शकको साथ पाएको खण्डमा उनका पुराना दिनहरू फेरि फर्किनेछन् । 

साम्राज्ञी आफैले पनि केही हप्ता अगाडि मिडियासँग कुराकानी गर्दै आफू फिल्म क्षेत्रबाट टाढा नभएको बताएकी थिइन् । उनले, आफूले खोजे जस्तो कथा नपाएको भन्दै फिल्म साइन नगरेको बताएकी थिइन् । 

साम्राज्ञीलाई नेपाली फिल्म क्षेत्रले पनि प्रतीक्षा गरिरहेको छ । अहिले केही नायिकाहरूको आडमा मात्र अगाडि बढिरहेको फिल्म क्षेत्रमा साम्राज्ञी जस्ती नायिकाको स्टारडम फर्किन आवश्यक छ ।