यो बर्ष दयाका ८ फिल्मः ३ हिट, ५ फ्लप

यो बर्ष नेपाली फिल्म क्षेत्र नायक दयाहाङ राइको वरिपरी नै घुम्यो । बर्षभरी दयाका फिल्म रिलिज र छायांकनको संख्या उस्तै रह्यो । दयाले एउटा फिल्मको छायांकन सकेर अर्कोलाई समय दिए । यसैले, उनलाई भ्याइनभ्याइ नै भयो । 

यो बर्ष नायक राईको ८ वटा फिल्म रिलिज भए । जसमध्ये ५ वटा फिल्मले बक्स अफिसमा असफलता भोगे । ३ वटा फिल्म हिट भए । जसमा एउटा फिल्म ब्लकबस्टर भयो भने दुई वटा फिल्म हिट भए । 

दयाले अभिनय गरेको ‘जारी’ फिल्म यो बर्षको सर्वाधिक ग्रस कलेक्शन गर्ने फिल्म बनेको छ । जसले बक्स अफिसमा १७ करोड माथिको व्यापार गर्यो । यस्तै, उनले नै अभिनय गरेको फिल्म ‘नांगो गाउँ’ पनि हिट भयो । दयाकै अभिनय रहेको फिल्म ‘दिमाग खराब’ पनि हिट भयो । फिल्मको व्यापार ९ करोडको आसपास भनिएको छ । 

उनले अभिनय गरेका ‘बिहे पास, निरफूल, दयारानी, हात्तीछाप र रंगेली’ बक्स अफिसमा चलेनन् । यी पाँच मध्ये पनि ‘निरफूल र दयारानी’ केही बर्ष अगाडि छायांकन गरिएका फिल्म हुन् । दयाको मुख्य भूमिका रहेको फिल्म ‘हात्तीछाप र रंगेली’बाट दर्शकलाई सर्वाधिक धेरै आशा थियो । तर, यी दुई फिल्म हेरेपछि दर्शक निराश भए । 

आउँदो बर्ष पनि दयाको वरिपरी नै नेपाली फिल्म घुम्नेछ । तर, आउँदो बर्ष बक्स अफिसमा दयाले एक्लै राज गर्न भने सक्ने छैनन् । किनकी, यो बर्ष हलमा नदेखिएका केही नायकहरूको फिल्म आउँदो बर्ष रिलिज हुँदैछन् । यसैले, आउँदो बर्ष फिल्म क्षेत्रमा कसको राज हुने हो, त्यो हेर्न बाँकी छ ।