बर्ष २०८०ः स्वस्तिमा र मिरुनाको २–२ फिल्म हिट, वर्षालाई लाग्यो लक

यो बर्ष नेपाली फिल्म क्षेत्रका चलेका नायिकाहरूको फिल्म हलमा लागे । यो बर्ष रेखा थापा, स्वस्तिमा खड्का, मिरुना मगर, पूजा शर्मा, आँचल शर्मा, वर्षा राउत, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा सिवाकोटी, केकी अधिकारी, उपासना सिंह ठकुरी, बेनिशा हमाल लगायतका नायिकाहरूको फिल्म हलमा लाग्यो । तर, यो बर्ष अधिकांश नायिकाहरूलाई आफ्नो क्रेज धान्न मुश्किल परेको देखिन्छ । 

बर्षको सुरुवातमै नायिका आँचल शर्माले ‘नाई नभन्नु ल ६’बाट झट्का खाँदा उपासना सिंह ठकुरीलाई ‘हात्तीछाप’ले ‘लक्की’ बनाउन सकेन । 

तर, यो बर्ष केही नायिकाहरूले भने बक्स अफिसमा सफलताको राम्रो स्वाद चाखे । नायिका मिरुना मगरको यो बर्ष ३ वटा फिल्म रिलिज हुँदा २ वटा चले । ‘जारी’ले ब्लकबस्टरको व्यापार गर्दा उनको डिमाण्ड पनि चुलियो । फिल्म ‘नांगो गाउँ’ले निर्मातालाई सुरक्षित बनायो । तर, फिल्म ‘रंगेली’ नचल्दा मिरुनाको यो बर्षको अन्त्य सुखद बन्न सकेन । 

यता, नायिका स्वस्तिमा खड्काको यो बर्ष ३ वटा फिल्म रिलिज भए । जसमा ‘ऐँचो पैँचो’ असफल भयो । फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन र दिमाग खराब’ हिट भए । यी दुबै फिल्मले स्वस्तिमाको फ्लपको यात्रा रोकिदिए । 

नायिका वर्षा राउतका लागि यो बर्ष सुखद बन्यो । फिल्म ‘ऐँचो पैँचो’ नचले पनि उनको कामको भने सर्वत्र तारिफ भयो । बर्षको अन्त्यमा रिलिज भएको फिल्म ‘महाजात्रा’ले बम्पर व्यापार गरिरहँदा वर्षाका लागि उत्साह पैदा भइरहेको छ । एकातिर कामको तारिफ, अर्कोतिर व्यापारिक रुपमा पनि हिट । वर्षा यो बर्ष सर्वाधिक लक्की नायिकाको रुपमा चिनिन पुगिन् । 

नायिका पूजा शर्मा, रेखा थापा, बेनिशा हमालले अभिनय गरेको फिल्म ‘उपहार’ले इनिसियल व्यापार आक्रामक गर्यो । तर, आइतबारदेखि फिल्मको व्यापार सुस्ताउँदा यो फिल्मले हिटको ट्याग भने पाउन सकेन । 

साम्राज्ञी राज्यलक्ष्मी शाहको यो बर्ष ‘नांगो गाउँ’ मात्र रिलिज भयो । यो फिल्म चलेपनि साम्राज्ञीलाई क्रेडिट भने गएन । किनकी, उनी फिल्ममा सह–नायिकाको रुपमा देखिएकी थिइन् ।

फिल्म ‘परदेशी २’ हिट भएपनि केकी अधिकारी र वर्षा सिवाकोटीले यसको क्रेडिट लिन सकेनन् । निकै नै कमजोर समीक्षा पाएको यो फिल्म चल्नुको पछाडि यसको ब्रान्ड र निर्देशक नारायण रायमाझीको नाम अगाडि देखियो । यो बर्ष सर्वाधिक फाइदा स्वस्तिमा खड्का र मिरुना मगरलाई भएको देखिन्छ ।