व्यस्तताबारे आँचल भन्छिन्–‘दिन लाग्या छ भने जस्तै हो’

फिल्म ‘एक मुठ्ठी बादल’को छायांकन सकेर पोखराबाट फर्किएकी नायिका आँचल शर्मा चैत्र ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’का लागि पत्रकारहरुमाझ उपस्थित भइन् । 

यो फिल्म रिलिज भए लगतै उनले फिल्म ‘वर एण्ड बधु’को छायांकन सुरु गर्नेछिन् । उनको हातमा ‘पिताम्बर, दुःखी आत्मा’ लगायतका फिल्म पनि छन् । बक्स अफिस सफलताको आधारमा हेर्दा आँचलको यो बर्षको सुरुवात खासै सुखद बनेन । तर, यसपछि भने उनी निरन्तर फिल्ममा व्यस्त बनिरहेकी छिन् । 

आखिर, किन आँचललाई फिल्म मेकरहरुले पत्याइरहेका छन् त ? उनी भन्छिन्–‘यो समयको कुरा हो । यसको दिन लाग्या छ भन्या जस्तै भएको हो । फेरि, निरन्तर काम गरिरहेपछि विश्वास पनि जितिने रहेछ । अब, त मैले फिल्मीकर्मीहरुको विश्वास कमाउने बेला पनि भयो नि होइन र ?’

आँचलले अहिले आफूलाई व्यस्त बनाउँदा खुशी लागेको बताइन् । भनिन्–‘डिग्री माइलाको छायांकन सकेर रुम्जाटारबाट फर्किँदै गर्दा हामीले ८ घन्टाको बाटो तय गरेका थियौं । मलाई घरमा गएर पाँच दिन आराम गर्न मन थियो । तर, दयाहाङ राई दाइले फेरि १० घन्टाको यात्रा गरेर अर्को फिल्मको काम सुरु गर्नुभएको थियो । यो देखेर म आफै छक्क परेँ । अहिले मलाई आफ्नो व्यस्तता देखेर मज्जा आइरहेको छ । मैले आफूलाई मन परेको काम गरिरहेको छु भन्ने कुराले आनन्दको अनुभुती दिइरहेको छ ।’